मधेशटप समाचारदाता,

संजित कुमार मण्डल,

महोत्तरी, ८ माघ । महोत्तरी जिल्लाको मटिहानी- जलेश्वर सडकखण्डमा गएराति मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना गंभिर घाईते भएका छन् ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका- ५ पर्सा गाउँ घर भएका नागेन्द्र शर्माका छोरा ४० वर्षीय शम्भु शर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

सोही दुर्घटनामा परी महोत्तरी गाउँपालिका- ३ मडै गाउँ घर भएका तपेश्वर चौधरीका छोरा ४२ वर्षीय पंकज चौधरी गंभिर घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

गएराति करीब ९ बजे दुवै जना प्र.२-०२५-प ३५२१ नम्बरको मोटरसाईकलमा चढी मटिहानीबाट जलेश्वरतर्फ आउँदै गरेको अवस्थामा मटिहानी न.पा.-६ स्थित सडकमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडि सवार शर्माको घटना स्थलमै मृत्यु भएको थियो भने मोटरसाईकल चालक चौधरी गंभिर घाईते भएका थिए ।

मृतक शर्माको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । यता प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

मृतकका परिवारजनले उनीहरुलाई कुनै ठूलो गाडीले ठक्कर दिएर मारेर फरार भएको दावी गर्दै त्यसको खोजतलाश र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीसँग माग गरेका छन् ।