मधेशटप,११ माघ

वीरगञ्ज । गौर नरसंहार दोहोर्‍याउँछु भनेर अभिव्यक्ति दिने संघीय सरकारकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बचाउमा जसपा पर्साले प्रदर्शन गरेको छ ।

 

सोमबार जसपा निकट समाजवादी महिला संघले मन्त्री रेणु यादवको बचाउ गर्दै वीरगञ्जमा प्रदर्शन गरेको हो ।

माघ ५ गते बलिदानी दिवसको कार्यक्रममा सहभागी हुन् रौतहटमा पुगेकी मन्त्री रेणु यादवमाथि जनमत पार्टीका कार्यकर्ताले दुर्व्यहार गरेको आरोप लगाउँदै महिला संघले प्रदर्शन गरको हो ।

महिला संघका अनुसार जनमत पार्टीले मन्त्री यादवमाथि सुन्योजित ढंगले आक्रमण गर्ने प्रयास गरेका थिए । मन्त्री यादवको विरोध गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न उनीहरुको माग छ ।

रौतहट पुगेकी मन्त्री यादवको जनमत पार्टीका कार्यकर्ताले विरोध गरेपछि आक्रोशमा उनले सार्वजनिक मंचबाट गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी थिइन । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या हुने र पुनः गौर नरसंहार हुने धम्कीसहितको हिंसात्मक अभिव्यक्तिको भिडियोनै भाइरल भएको थियो ।

मन्त्री यादवको उक्त अभिव्यक्तिको अहिले चारै तिर विरोध भइरहेको छ । उनलाई मन्त्री पदबाट हटाउनसमेत सरकारमाथि अहिले सबैतिरबाट दवाव सृजना भइरहेको छ ।

मन्त्री यादवले हिजो एउटा विज्ञप्ति जारी गर्दै आफुले त्यस्तो अभिव्यक्ति नदिएको स्पष्टीकारण दिएकी छन् ।