मधेसटप, माघ १२ गते ।

मधेश प्रदेशमा राष्ट्रियसभाको २ सीटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका  उम्मेदवार विजयी भएका छन् ।

सत्ता गठबन्धनका महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहबाट जसपाका मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन् ।

सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन् ।

महिला समूह तर्फको मतदानमा प्रदेश तर्फ ३ र स्थानीय तर्फ १६ मतदाताको मत बदर भएको थियो । यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो ।

यता अन्य समूहबाट जसपाका उम्मेदवार सिद्धिकीले ६ हजार ६ सय ७८ मत ल्याएका छन् भने एमाले–लोसपा गठबन्धनबाट अन्य समूहका उम्मेदवार उस्मान अन्सारीले २ हजार ७ सय ६६ मत ल्याए ।

कडा सुरक्षाका बीच भएको मतदानमा ३ सय ७२ मतदाता मध्ये ३ सय ६६ जनाले मात्र मतदान गरेका थिए । २ जना प्रदेशसभा सदस्य र ४ जना स्थानीय जनप्रतिनिधि सहित ६ जनाले मतदान गर्न नसकेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका थिए । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए ।