मधेशटप, माघ १७ गते ।

जनकपुरधाम  । मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीको किसान आन्दोलनले एक महिनाभन्दा बढी समयदेखि निरन्तरता पाइरहेको छ । किसानले मल र बिउबिजन नपाएको भन्दै राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु सडक आन्दोलनमा छन् । उनीहरुले किसान आन्दोलनसँगै भ्रष्टाचारविरुद्ध पनि चर्को नारा लगाउँदै आएका छन् ।

मधेसलाई छुट्टै राज्य बनाउने अभियानमा लागेका राउतलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २४ गते शान्तिपूर्ण राजनीतिमा ल्याएको थियो । शान्तिपूर्ण राजनीतिमा आएको तीन वर्षपनि नपुग्दै जनमत पार्टीले फेरी पुरानै प्रवृत्ति देखाउन थालेको भन्दै विरोध हुन थालेको छ।

 

शान्तिपूर्ण राजनीतिमा आउनुभन्दा अगाडि देशद्रोहको आरोप खेपेका राउत नेतृत्वको जनमत पार्टीमाथि अहिले किसान आन्दोलनका नाममा हिंसा फैलाउन उद्धत रहेको आरोप लाग्न थालेको छ । पछिल्ले समय राउतका कार्यकर्ताहरुको निसानामा सरकारी कर्मचारी र जनप्रतिनिधिहरु पर्न थालेका छन् । राउतको हालको गतिविधिलाई कतिपयले चुनावी प्रोपोगन्डाको संज्ञा दिइरहेका छन् भने कतिपयले सस्तो लोकप्रियताका लागि अराजक आन्दोलनमा उत्रिएको आरोप लगाउने गरेका छन् ।

जनमत पार्टीको चुनाव चिह्न ‘लाउडस्पिकर’अंकित झन्डा गाउँगाउँमा देखिन थालेको छ । सीके राउतको पक्षमा गाउँगाउँबाट युवा दस्ता सडकमा होमिन थालेका छन् । पृथक्तावादी गतिविधि छाडेर मूलधारको राजनीतिमा होमिएको सीके राउत नेतृत्वको जनमत पार्टी अराजक शैलीमा प्रस्तुत भएपनि उनको क्रेज बढ्दो छ ।

मधेसमा राउतको शक्ति कति ?

सिके राउत नेतृत्वको जनमत पार्टी खासगरी मधेस प्रदेशमा केन्द्रित छ । झापादेखि बर्दियासम्म १७ जिल्ला र काठमाडौँ उपत्यकामा गरी १८ जिल्लामा जनमतको संगठन देखिन्छ । उपत्यकासहित १८ वटै जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्ष बनाइएका छन् । तर, जिल्लामा विस्तार भएपनि संगठनले अझै पूर्णता पाउन सकेको छैन् । इन्चार्ज र सह–इन्चार्ज पद पनि खाली नै छन् ।

मधेस प्रदेशका आठवटा जिल्लामा पार्टीको विशेष सक्रियता र गतिविधि देखिएको छ । तुलनात्मक रुपमा अन्य जिल्लाहरुमा जनमत पार्टीको गतिविधि विरलै देख्न पाइन्छ ।

राउतको पार्टीले आउँदो निर्वाचनमा विभिन्न एजेण्डा प्रस्तुत गरेर धेरै सिट नभएपनि केही सिट जित्नसक्ने कतिपयको आकंलन छ।

शनिबार गठबन्धनका शीर्ष नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले जेठमै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार जनमत पार्टीले आफ्नो संगठन रहेका १७ वटा जिल्लाको स्थानीय तहका हरेक पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

जनमत पार्टीले अहिलेसम्म दुईपटक निर्वाचनको सामना गरिसकेको छ । २०७४ मा भएको तीन तहको निर्वाचनमा राउतले ‘कोठली बाहर मोहर’ अर्थात् मतपत्रमा रहेको चुनाव चिह्नको कोठा बाहिर मतदान गर्न अभियान नै चलाएका थिए ।

राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेस गठनबन्धनको नामबाट सो अभियान चलाइएका थियो । सो अभियानमा राउतको नेतृत्वमा थुप्रो मानिसहरु सहभागि भएका थिए । तर, चुनाव चिह्नको कोठा बाहिर मतदान गर्नेको संख्या नै सार्वजानिक भएन । राउतको कार्यकर्ताहरुका अनुसार ४० प्रतिशतले चुनाव चिह्नको कोठा बाहिर मतदान भएको दाबी गरिरहेका छन् ।

दोस्रोपटक निर्वाचनको सामना राउतले २०७६ मा भएको उपनिर्वाचनमा हो । मुलधारको राजनीतिमा आइसकेपछि राउतको पार्टीले स्थानीय तहको उपनिर्वाचनमा १० वटा पदमा उम्मेदवारी दिए । तर, कुनै उम्मेदवारले औसत मत पनि ल्याउन सकेनन् ।

सप्तरी राउतको गृह जिल्ला हो । राउत आफ्नै गृह जिल्लामा कमजोर देखिएका छन् । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ७ को अध्यक्ष पदका लागि भएको चुनावमा जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले जम्मा ११ मत ल्याएका थिए । एक हजार ४०३ मतदाता छन् त्याँहा । जसमध्ये एक हजार ११४ जनाले मतदान गरेका थिए ।

त्यस्तै, सिरहा कल्याणपुर वडा नम्बर १२ का अध्यक्ष पदका लागि भएको चुनावमा जनमत पार्टीका मोहम्मद अताउल रहमानले १६० मत ल्याएका थिए । यस्तै, रौतहतको गढीमाइ नगरपालिकाको वडा नम्बर २ को अध्यक्षका लागि भएको चुनावमा जनमत पार्टीका राधेश्याम साह बनियाँले १२ मतमात्र ल्याएका थिए । बाराको बारागढी वडा नम्बर १ का अध्यक्षका लागि भएको चुनावमा जनमत पार्टीका उम्मेदवार शंकरप्रसाद चौधरीले ३ मतमात्र ल्याए ।

त्यस्तै, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदका लागि जनमत पार्टीका उम्मेदवार अञ्जनी देवी मण्डलले ६१६ मत प्राप्त गरेकी थिइन्, जबकी सो गाउँपालिकामा १८ हजार ५८८ मतदातामध्ये १२ हजार ५८९ जनाले मतदान गरेका थिए ।

महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ८ का अध्यक्षका लागि भएको मतदानमा जनमत पार्टीका उम्मेदवार फुलकुमारी देवीले ९ मतमात्र ल्याइन् । सोही नगरपालिकाको वडा नम्बर २ को अध्यक्षका लागि भएको चुनावमा जनमत पार्टीका विरेन्द्र कुमार साहले २२३ मत मात्र प्राप्त गरेका थिए ।

त्यस्तै, सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदका लागि भएको उपचुनावमा जनमत पार्टीबाट दिनेश राय यादवले उम्मेदवारी दिएका थिए । एक हजार ३५६ मतदातामध्ये एक हजार ९३ जनाले मतदान गरेका थिए । त्यसमध्ये जनमत पार्टीका उम्मेदवारले ५२ मतमात्र पाएका थिए ।

२०७९ जेठमा जनमत पार्टी अब तेस्रो निर्वाचनको सामना गर्नेछन्। राउतको पार्टीले आउँदो निर्वाचनमा विभिन्न एजेण्डा प्रस्तुत गरेर धेरै सिट नभएपनि केही सिट जित्नसक्ने कतिपयको आकंलन छ।

जनमत पार्टी सिरहा र सप्तरीमा सिमित छः प्रशान्त झा (युवा नेता, लोसपा)

लोकतान्त्रिक समाजवादी पार्टीका नेता प्रशान्त झाले सिके राउत गृहजिल्लामा कमजोर रहेको बताए । उनले संगठन विस्तारको हिसाबले सिके राउतको पार्टी सप्तरी र सिरहामा मात्रै खुम्चिएको बताए ।

‘खास गरेर जनमत पार्टीको संगठन मधेस प्रदेशमा १–२ जिल्लामा मात्र देखिन्छ। सीके राउतको गृहजिल्ला सप्तरी भएकाले सप्तरी र सिरहामा सानो संगठन छ । बाँकी जिल्लाहरुमा जनमत पार्टीले पूर्णरुपमा संगठन विस्तार गर्न सकेको छैन्,’ नेता झाले भने, ‘मुख्यरुपमा सीके राउतको जुन एजेण्डा थियो ‘मधेसलाई छुट्टै राज्य बनाउने’ त्यो एजेण्डा छोडेकै दिनबाट मधेसमा राउतको क्रेज घटेको देखिन्छ। र पछि राउतले दर्ता गराएको जनमत पार्टीमा पहिलाका कार्यकर्ताहरु नभएर भर्खरका नयाँ युवाहरु देखिन्छन् ।’

उनले सिके राउतको पार्टीले शान्तीपूर्ण राजनीति गरिरहँदा मधेसमा क्रेज राम्रै भएपनि किसान आन्दोलनपछि उनको शक्ति कमजोर बन्दै गएको दाबी गरे ।

‘जतिखेर सीके राउत मुलधारको राजनीतिमा प्रवेश गरेर शान्तिपुर्ण गतिवधिहरु गरिरहेका थिए त्यतिखेर उनको पार्टी ठिक थियो। तर जब किसान आन्दोलनको नाममा र अन्य मुद्दाको नाममा हिंसात्मक गतिविधिहरु गर्न थाले तब उनलाई मान्छेहरु मन पराउन छाडे। उनको उग्रवादी शैली समाज र देशको लागि ठिक होईन,’ उनले भने, ‘ आउँदो निर्वाचनमा जनमत पार्टीले जित्ने सम्भावना त म खासै देख्दिन, मलाई लाग्दैन १–२ सिट पनि आउँछ होला । वार्डमा कहिँकतै १–२ सिट आउनसक्छ । जहाँसम्म मलाई लाग्छ सीके राउतको पनि जित्ने कुनै आधार छैन । किनभने नागरिकस्तरबाटै सीके राउतले जित्ने कुनै आधार देखिँदैन ।’

गठबन्धनबाट आएपनि चुनावमा राउतको कुनै सम्भावना छैनः नविन यादव (युवा नेता, जसपा)

जनता समाजवादी पार्टीका नेता नविन यादवले आगामी निर्वाचनमा सिके राउतको कुनै सम्भावना नरहेको बताए । देश विभाजन गर्नेसम्मका अभिव्यक्ति दिने राउतले गठबन्धन गरेरै आएपनि निर्वाचन नजित्ने उनको दाबी छ ।

‘सर्वप्रथम सीके राउत आफ्नो मुद्दाबाटै भट्किनु भएको हो, राउत त देश टुक्रयाउने मुद्दा लिएर आउनुभएको थियो । उनी देश टुक्रयाउने काम गर्नु भएको थियो। पछि मात्र उहाँ शान्तिपुर्ण राजनीतिमा आउनुभएको हो । तुल्नात्मक रुपमा पहिलाको जुन उहाँप्रति आकर्षण थियो त्यो अहिले घटेको छ। किनभने अहिले उनको पार्टिले गरेको आन्दोलनहरुको मुद्दा त ठिक छ, तर जुन शैलि छ त्यो राजनीतिक शैलि नै होईन। राजनीति गर्ने मान्छे आफ्नो विचाार, सिद्धान्त र एजेण्डामा अडिग हुन्छ। जुन राउत जी मा देखिएन,’ नेता यादवले भने, ‘कहिँकतै आन्दोलन नै गर्नुपर्ने छ भने त्यसको पनि शैलि हुन्छ। लोकतन्त्रमा विरोध गर्ने अधिकार छ सबैलाई तर उनको शैलि राजनीतिक देखिएन। अब लाठी र भाटाले जनता पीडित भइसकेको अवस्था छ। मधेस प्रदेशमा उनको अवस्था निकै कमजोर देखिएको छ। उनको पार्टीको कुनै सिट आउने सम्भावना हामिले देखिरहेका छैनौँ ।’

उनले सीके राउतको पछिल्लो गतिविधिमा आतंकवाद शैली झल्किरहेको बताए । नेता यादवले सिके राउतले कुनै पार्टीको इसारा वा कसैबाट परिचालित रहेको आँकलन गर्न सकिने बताए ।

‘उहाँले आफै परिचालन त गर्नुहुन्छ दुई चार सय युवा तर कहाँबाट ? रौतहटमा त्यही कार्यकर्ता देख्छु, जनकपुरमा त्यही कार्यकर्ता देख्छु, अरुअरु ठाँउमा पनि उही कार्यकर्ता देख्छु। किसान आन्दोलनको नाममा जनकपुरमा भएको प्रदर्शनमा कति जना किसानहरु थियो ? हामीले त कुनै किसानलाई देखेनौं,’ नेता यादवले भने, ‘सीके राउत विभिन्न पार्टीको गठबन्धनबाट आएपनि उहाँको त्यस्तो कुनै सम्भावना हामी देखिरहेका छैनौँ। उहाँको आफ्नै क्षेत्रमा पनि त्यस्तो कुनै सम्भावना देखिरहेको छैनौँ ।’

जनमत पार्टीले कांग्रेस र एमालेको भोट काटेको अहिलेसम्म देखिँदैनः राकेश बिक्रम साह (धनुषा नगर उपसभापति, नेपाली कांग्रेस)

नेपाली कांग्रेसका धनुषा नगर सभापति राकेश बिक्रम साह गाउँगाउँमा जनमत पार्टीको अवस्था राम्रै रहेको बताउँछन् । अहिले नै चुनावी हिसावले आकंलन गर्न अप्ठ्यारो भएकाले केही सिट जनमतले ल्याउन सक्ने उनको विश्लेषण छ ।

‘मधेस प्रदेशमा जनमत पार्टीको अवस्था त पछिल्लो समय राम्रै भएको छ। शहर केन्द्रित नभएपनि गाउँघरमा जनमतको संगठन बलियो नै देखिएको छ। मान्छेको झुकाव जनमतप्रति बढ्दो छ। चुनावी हिसावले आकंलन गर्न अहिले अलिक अप्ठ्यारो नै छ,’ नेता साहले भने, ‘केही सिट जनमतले ल्याउन सक्छ। जनमत पार्टी अहिले सबैको ’सेन्टर अफ् एट्रयाक्सन’ बनेको कुरामा दुई मत छैन। जनतामा पार्टीको प्रभाव पनि पोजिटिभ नै देखिन्छ। जनमतलाई नराम्रो भन्नेको संख्या कम छ। राम्रै गर्दैछ भनिरहेको छ जनताले ।’

गठबन्धनसँग आए‍पनि नआएपनि जनमतले प्रदेश संसदमा ४–५ सिट जित्ने सम्भावना देखिएको बताउँदै उनले संघीय संसदमा जित्ने सम्भावना नरहेको बताए।

‘ठ्याकै कुनै राजनीतिक दलसँग आवद्ध भएकोले के भन्छ त्यो फरक कुरा हो तर आम जनताले राम्रै भनेको छ। गठबन्धनसँग आए‍पनि नआएपनि जनमतले प्रदेश संसदमा ४–५ सिट जित्ने सम्भावना देखन्छ। संघीय संसद नै पड्काउने खालको सम्भावना नरहेपनि प्रदेश संसद जित्ने सम्भावना प्रबल नै देखिरहेको छु। तर सीके राउतको कुरा गर्ने हो भने उनी जित्न सक्ने सम्भावना सत् प्रतिशत देखिरहको छु। उनले उठाएको माग र आवाज सदनमा आवश्यक पनि छ,’ नेता साहले भने, ‘मुख्यरुपमा जनमतले यदि बेस कसैलाई मानेको छ भने त्यो जसपा र लोसपा नै हो । जनमतले कांग्रेस र एमालेको भोट काटेको अहिलेसम्म देखिँदैन। जनताको ध्यान तानेको छ तर उसले ओभरटेक गर्ने भनेकै जसपा र लोसपालाई हो ।’