बर्दियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार सोमबार राति ८ बजेतिर बढैयाताल गाउँपालिका-०३ सतपतियामा भे १ क १४९५ नम्बर टिपर अनियन्त्रित भएर आगो तापिरहेका मानिसहरूलाई ठक्कर दिन पुगेको थियो।

स्थानीय रामु थारूको घरअगाडि आगो तापिरहेकाहरूलाई टिपरले ठक्कर दिँदा ४५ वर्षका सोमबहादुर बिकको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भए रामु थारूको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

ठक्करबाट घाइते भएका प्रमिला चौधरी, चमेलिया थारू र  टिपरका सहचालक लक्ष्मण सुनारको उपचार भइरहेको छ।

टिपरका चालक सुर्खेत वीरेन्द्रनगरका दुर्गा बिकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।