मधेशटप,

जनकपुरधाम  : पर्साको पोखरियामा पोखरीया सङ्घर्ष समितिको बैठक सम्पन्न भएको छ । मङ्गलवार सम्पन्न भएको बैठकले पोखरिया नगरपालिका बोर्डबाट सिफारिश गरेर सरकारी कार्यालयहरूको शाखा पोखरियामा स्थापना गराउनका लागि थप आन्दोलन, लबिङ गर्ने निर्णय गरीएको छ ।
पोखरिया सङ्घर्ष समितिका अध्यक्ष नेजामुद्दीन समानीको अध्यक्षतामा बसेको बैठकबाट वीरगञ्ज महानगरपालिका केन्द्रित सरकारी कार्यालयहरूमध्ये आम मानिसको लागि आवश्यक जिल्ला प्रशासन, मालपोत, नापी र भूमिसुधारलगायतका कार्यालयहरूको सेवा पोखरियामा शाखा स्थापना गरी गर्न लगाउनेबारेमा सबै खाले प्रयासहरू गर्ने निर्णय गरीको छ । तत्कालका लागि एक साताभित्र सरकारी कार्यालयहरू स्थापनाका लागि पोखरिया नगरपालिकाले निर्णय गर्ने र सोही अनुरूपको डेलिगेशन जाने र आवश्यकता परेको अवस्थामा आन्दोलन पनि गर्ने निर्णय गरिएको छ ।
बैठकमा संविधानसभा सदस्यहरू प्रद्युम्न चौहान, रामेश्वर मेहता, वडाध्यक्षहरू लछुमन साह कानू, नन्दलाल पटेल, खलिल मियाँ, आशा  चौहान, एमाले पोखरिया नपाका अध्यक्ष विन्ध्याञ्चल ठाकुर, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति श्रीकृष्ण चौहानलगायतले पोखरियामा सरकारी कार्यालयका शाखाहरू स्थापनाका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
पर्सा जिल्लाका सबै खाले सरकारी कार्यालयहरू वीरगंज केन्द्रित भएको र जिल्लाका दूरदराज क्षेत्रबाट नागरिकता, राहदानी, जग्गा कित्ताकाट, रजिस्ट्रेशन, मालपोत दस्तुर, मोही बाँडफाँडलगायतका कामका लागि आउँदा विभिन्न खाले समस्याको सामना गर्नुपरेको र सहज सेवा पनि लिन नसकेको कुरालाई दृष्टिगत गर्दै जिल्लाको मध्यभाग पोखरियामा यी कार्यालयका शाखाहरू खोल्नुपर्ने माग बढेको छ ।