मधेशटप समाचारदाता,

सञ्जीत कुमार मण्डल,

जलेश्वर, २५ माघ । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ सहोडवा गाउँ बस्ने वृद्ध झा दम्पतिको हत्या गरी एक महिनासम्म शव लुकाईएको मुद्दामा प्रहरीले कमजोर अनुसन्धान गरेको आरोप लगाइएको छ ।

प्रहरीको अनुसन्धान पश्चात महोत्तरी जिल्ला अदालतद्वारा झा दम्पतिको हत्या गर्ने, शव लुकाउने र थप योजना बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्पक्षका लागि जेल पठाइएको भारतको बिहार राज्यको मधुबनी जिल्ला बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरको परिवारजनले सो मुद्दामा प्रहरीले कमजोर अनुसन्धान गरेको आरोप लगाएका छन् ।

हरेन्द्रका दाजु, पत्नी, छोरा, छोरी, दिदी, भिनाजु सहितले महोत्तरी र धनुषाका पत्रकारहरुसँग संयुक्त पत्रकार सम्मलेन गर्दै सो मुद्दामा प्रहरीले हरेन्द्रको विरुद्ध कुनै पनि सबुत प्रमाण नहुँदा पनि उनलाई सबुत प्रमाण बिना नै जेलमा राखेको आरोप लगाएका छन् ।

गत वर्ष २०७७ फागुन १० गते राति आफ्नै घरमा सुतिरहेका पिपरा गा.पा.५ बस्ने ६५ मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीता देवी झालाई अपहरण गरी हत्या गरेर शव लुकाईएको थियो भने घटनाको एक महिना २ दिनपछि चैत्र १२ गतेका दिन पिपरा गाउँपालिका– २ स्थित अतराढ गाउँ जाने बाटोमा रहेको कल्भर्टको माटोमा गाडिएको अवस्थामा वृद्ध झा दम्पतिको शवको अवशेषहरु फेला परेको थियो ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय कैलाश झा, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र यादव, तारादेवी झा, अंशु झा र भारत बिहारको मधुबनी बस्ने हरेन्द्र ठाकुरलाई पक्राऊ गरी मुद्दा चलाएको थियो ।

महोत्तरी जिल्ला अदालतले सो मुद्दाका आरोपी बनाइएकाहरु मध्ये तारादेवी झालाई रु.२ लाख धरौटी, अंशु झालाई ५० हजार धरौटीमा छाडेको छ भने उच्च अदालत जनकपुरले सो घटनाका आरोपीहरु सुरेन्द्र यादव र राजेन्द्र यादवलाई जनही रु.५÷५ लाख धरौटीमा छाडेको छ ।

त्यसैगरी कैलाश झा, रामबाबु यादव र हरेन्द्र ठाकुरलाई पूर्पक्षका लागि थुनामा राखी मुद्दा चलाउने आदेश दिएको हो ।

यस सन्दर्भमा भारतीय नागरीक हरेन्द्र ठाकुरका छोरा केशव ठाकुरले पत्रकार सम्मेलनमा हरेन्द्र सो घटनाको दोषी नरहेको, घटना घटेका दिन उनी काठमाडौंमा रहेको, घटनाका अन्य आरोपीहरु कैलाश झा र रामबाबु यादवसँग उनको कुराकानी भएको कुनै मोबाईल कल रेकर्ड नरहेको, घटना घटिसकेको अवस्थामा अपराधी भाग्ने गर्छन तर हरेन्द्र अपराधी नभएकै कारण १०÷१२ दिनसम्म पनि काठमाडौंमै रहेको तथा जग्गा विवादका कारण हरेन्द्रले झा दम्पतिको हत्या गरेको पनि कुनै सबुत प्रमाण नरहेको अवस्थामा पनि प्रहरीले उनलाई घटनाका दोषी बनाई थुनामा पठाएको आरोप लगाएका छन् ।

हरेन्द्रका दाजु नरेन्द्र ठाकुरले प्रहरीले हरेन्द्रसँग पैसा खाने उद्देश्यले उनलाई पक्राऊ गरेको र उनीमाथि फर्जी मुद्दा चलाएको आरोप लगाएका छन् ।

उनका भिनाजु देवेन्द्र ठाकुर निरालाले प्रहरीले त्यसबेला झा दम्पतिको हत्यालाई लिएर महोत्तरी र धनुषा सहित राजधानी केन्द्रित आन्दोलन समेत शुरु भइसकेको आन्दोलनलाई दबाउन हरेन्द्रलाई फर्जी दोषी बनाएर सार्वजनिक गरिदिएको र हालसम्म हरेन्द्रको विरुद्ध कुनै पनि प्रमाण जुटाउन नसकेको आरोप लगाउनुभयो ।

त्यसैगरी उनकी पत्नी र छोरीले प्रहरी तथा अदालतले झा दम्पतिको मुख्य हत्याराहरुलाई अनुसन्धान नै नगरी छाडिरहेको तथा निर्दोष रहेका आफ्ना पति÷पिता हरेन्द्रलाई झूठो मुद्दा लगाएर जेलमा राखेको आरोप लगाएका छन् ।

झा दम्पतिको अपहरण पश्चात हत्या र शव समेत एक महिना दुई दिनसम्म फेला नपर्दा महोत्तरीमा जिल्ला, प्रदेश, क्षेत्र र केन्द्र सम्मको विभिन्न तह तप्काका प्रहरी अधिकृत, अनुसन्धान व्युरो, डगटोली लगायत विभिन्न सूरक्षा संयन्त्रहरु समेत प्रयोग गरिएपछि मात्रै झा दम्पतिको शव २०७७ चैत्र १२ गतेका दिन फेला परेको थियो ।