ममता शर्मा

गौशाला , माघ २७ ।

महोत्तरीमा सहिद शेखर स्मृति सुधार गृह तथा विद्यालयको भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको गौशाला नगरपालिका वडा .८ बेल्गाछी स्थित सहिद शेखर स्मृति सुधार गृह र वडा न.१० फुलकाहा स्थित मा.वि. भेडीयाही फुलकाहाको भवनको शिलान्यास आज एकैदिन मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले गरेका छन् ।

नगरपालिकाको वडा न.८ स्थित सोनी खोलाको किनारमा प्रदेश सरकारको ८४ लाख ४ हजार १ सय ४४ रुपैयाँको लगानीमा सुधार गृहको निर्माण हुन लागिएको आन्तरिक मामिला तथा संचार मन्त्रालयका ईन्जिनियर जितेन्द्र महराले जानकारी दिएका छन्। असार मसान्त सम्ममा निर्माण कार्य सम्पन्न हुने सो गृह २ तल्ला सम्मको हुने तथा केहि दिन अगाडी देखि नै भवनको निर्माण कार्य भईरहेको पनि महराले जानकारी दिएका छन् ।

त्यस्तै नगरपालिकाको वडा न.१० फुलकाहा स्थित २० लाखको लागतमा प्रदेश सरकारको लगानीमा मा.वि. भेडीयाही फुलकाहाको भवन निर्माण भइरहेको संचार मन्त्रिका स्वकीय सचिव श्री किशोर साहले जानकारी दिएका छन् ।

शिलान्यास कार्यक्रममा संचार मन्त्रि भरत प्रसाद साह ,नगर प्रमुख शिवनाथ महतो ,उपप्रमुख आशा लामा ,नगरका प्रवक्ता तथा वडा न.८ का वडा अध्यक्ष भोजबहादुर दर्लामी , संचार मन्त्रालयका ईन्जिनियर जितेन्द्र महरा, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र जंग थापा ,नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य विजय कुमार साह,काशी महतो ,कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

सुधार गृह भवनको शिलान्यास पश्चात मन्त्रि साहले आफ्नो मन्तव्य व्यक्त गर्दै लागु औषधको कुलतमा फसेका युवाहरुलाइ लक्षित गरि उनीहरुलाई सुधार्ने उद्देश्यले यस गृहको निर्माण गर्न लागिएको बताए । उनले भने ,”मधेश प्रदेशमा लागु औषध सेवन तथा यसको ओसारपोसारको बिगीबिगी बढेको छ । जसले गर्दा सोसाइटीका अनेकौ विद्यमान समस्याहरु सिर्जना भईरहेका छन् । कुलतमा फसेका सन्तानका परिवार पिडित छन् । यसले समाजको भविष्य खतराजनक हुन सक्छ ।” यस्ता लागु औषधको कुलतको समस्यालाइ निराकरण गर्नको लागि मधेश प्रदेशको बीच क्षेत्रमा पर्ने यस बेल्गाछीमा गृहको निर्माण गर्न लागिएको उनले बताए ।

त्यस्तै गौशाला नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष शिवनाथ महतोले सुधार गृहको निर्माणले सम्पूर्ण जनसमुदायलाई महत्वपूर्ण योगदान पुर्याउने दावी गरेका छन् ।

उनले गौशाला नगरपालिकामा विकास निर्माणका अनेकौ कार्य भईरहदा यस गृहको निर्माणको थालनीले भावी समयमा नमुनाको रुपमा चिनारी प्राप्त गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

साथै उनले अगामी दिनमा नगरपालिकाले यस संस्थालाई व्यवस्थित गर्नका निम्ती सक्दो सहयोग गरी हरेक किसिमको भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।