बरहथवा, सर्लाही माघ २७ गते :- कामाख्या परिवार नेपालको तत्वाधानमा निरन्तर भईरहने आपदग्रस्त नर-नारायण सेवा कार्यक्रमलाई निरन्तर दिँदै बागमती नगरपालिका वडा नं ८ (सोल्टी बजार)मा ७५ निर्धन परिवारलाई राहतस्वरूप प्रति परिवार एक एक बोरा चामल, बाक्लो न्यानो कम्बल तथा एक-एक पोका बिस्कुट वितरण गरिएको छ ।

उल्लेखनीय छ, यस अवसरमा कामाख्या परिवार, नेपाल केन्द्रीय कार्यालय जनकपुर तथा कामाख्या परिवार नेपाल सर्लाही शाखाको संयुक्त सहकार्यमा जन चेतना मूलक भव्य कार्यक्रमको आयोजना गरिएको थियो । यस संचेतना समारोहमा केन्द्रीय अध्यक्ष श्री विभास लाभले आध्यात्मिक दर्शन तथा धर्मको तात्विक मूल्य द्वारा निर्दिष्ट समाजले मात्र स्थायी समृद्धि सुख र शान्ति प्राप्त गर्न सक्छ भन्ने विश्वास व्यक्त गर्नु भएको थियो।

उहाँले वर्तमान युग – जीवनमा प्रत्येक आयाम राजनीति अर्थसामाजिक अवस्था, धर्म, संस्कृति आदिमा देखिएका अनिष्टकारी विकृतिहरु देखा परेका छन् र यिनको सुव्यवस्थापन धर्म द्वारा मात्रै संभव भएको हुँदा मानवीय चेतनामा धार्मिकता ‘लोक-मंगलको एक मात्र सुत्र हो’, भन्नु भयो । यस अवसरमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी श्री थानेश्वर गौतम र उहाँकी धर्मपत्नी ज्ञानु गौतम, जनपथका प्रहरी उपरिक्षक श्री कृष्ण प्रसाई र उहाँकी धर्मपत्नी भावना प्रसाई, स-शस्त्र प्रहरी उपरिक्षक श्री भरत खानिया र उहाँकी धर्मपत्नी श्रीमती प्रगती खानिया बागमती नगरपालिकाका सम्मानित समाजसेवी सर्वश्री दीपक राणा भाट, जवाहर कुशवाहा, पशुपति कार्की कामाख्या परिवार नेपाल केन्द्रीय कार्यालयका सचिव श्रीमती ललिता लाभ को उपस्थिति थियो ।

समारोहका प्रमुख अतिथी प्र.जि.अ थानेश्वर गौतमले ‘कामाख्या परिवार नेपाल सर्वे भवन्तु सुखिन: र वसुधैव कुटुम्बकम मा अटल आस्था राख्तछ र धर्ममा आधारित विश्व समाजको निर्माणमा प्रतिवद्ध छ’, भन्ने विचार व्यक्त गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता कामाख्या परिवार नेपाल सर्लाहीका अध्यक्ष श्री राकेश प्रसाद चौधरीले गर्नु भएको थियो भने उपघोषण, श्री कृष्ण पुलामी ज्यूले गर्नु भएको थियो।