मधेशटप, फागुन २ गते

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ मा बर्डफ्लू पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोकर्णेश्वर नगरपालिका ३ स्थित एक कृषि फार्ममा पालिएका कुखुराहरुमा बर्डफ्लू देखिएको जनाएको छ।यही माघ २७ गते केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए।
काठमाडौंसहित चितवनको राप्ती नगरपालिका ६ मा पनि बर्डफ्लू पुष्टि भएको छ।

\प्रभावित क्षेत्रमा रोग नियन्त्रणका लागि काम भइरहेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए। एभियन इन्फ्लुएन्जा भाइरसको संक्रमण खासगरी पंक्षीहरुमा हुन्छ। तर हाल पुष्टि भएको एचफाइभएनवानले मानिसमा पनि संक्रमण गराउन सक्छ।’मानिसमा संक्रमण भएरनभएको पहिचान गर्ने, संक्रमित व्यक्तिहरुमा उपचार सुरु गर्ने, सम्पर्कमा आएका व्यक्ति १० दिनसम्म आइसोलेसनमा बस्नुपर्ने, सम्पर्कमा आएका व्यक्तिहरुको खोजपड्ताल गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

बर्डफ्लू भएरनभएको बारे प्रयोगशालामा परीक्षण गरेर मात्र पुष्टि गर्न सकिने उनले जानकारी दिए। यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएको छ।
प्रभावित क्षेत्रमा श्वासप्रश्वासमा गम्भीर समस्या भए, १०४ डिग्रि ज्वरो आए, रुघाखोकी लागे, सिगान बग्ने अथवा नाक बन्द भए, घाँटी दुखे बर्डफ्लूको परीक्षण गराउन मन्त्रालयको जानइएको छ।