मधेशटप,फागुन ३ गते ।

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याललगायतको सक्रियता तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रले अगुवाइमा रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो ।

स्याङ्जा सहयोग समाज स्पेनबाट ६८०, फ्रान्सबाट ६००, बेल्जियमबाट ५००, नेदरल्याण्डबाट ३६०, एनआरएनए पोर्चुगलबाट दुई हजार ३०५, पोर्चुगलबाट तीन हजार ४१७ यूरो र थप केही सङ्घसंस्था तथा व्यक्तिबाट रकम सङ्कलन गरी घर पठाइएको हो ।

सङ्कलित रकम भिरकोट नगरप्रमुख छायाराम खनालले परिवारलाई हस्तान्तरण गर्नुहुँदै २८ वर्षको अल्पायुमै रोजगारीका सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएकामा दुःख व्यक्त गरे ।

उनले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका स्याङ्जावासीको सहयोगमा सङ्कलन गरिएको रकमको सही सदुपयोग गर्न पनि सुझाव दिए ।