मधेशटप, फागुन ४ गते 

रागिनी पण्डित

नगरपालिका घोषणा भएको छोटो समयमै सर्लाहीको हरिवन नगरपालिकालाई नगर विकास कोष नयाँ बानेश्वर, काठमाण्डौंले उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको छ तर जिल्लाको सबैभन्दा पुरानो तथा पहिलो नगरपालिकाको साथै जिल्ला सदरमुकाम समेत रहेको मलंगवा नगरपालिका व्यवस्थापन र विकास लगायतको काममा पछि परेको छ।

मलंगवा बजारका सडकहरु सवारीसाधन पार्किङ गर्ने स्थल बनेको छ।बजारको सडक छेउ सयौंको संख्यामा साइकल, मोटरसाइकल,जिप,कार,टेम्पो ,ठेला लगायतका सवारीसाधनहरुले भरिएका छन् ।बसपार्क त झन जथाभावी रुपमा पार्किङ गरिएका टेम्पुहरुका कारण अस्त व्यस्त बनेको छ ।

मलंगवा क्षेत्रमा पर्ने जिविस चौकदेखि लिएर बसपार्क,बालमन्दिर चौक, नगरपालिका कार्यालय नजिक मेन चौक हुँदै भगवती मन्दिर, नेपाल बैक र मालपोत कार्यालयसम्मको सडकको दुवै तर्फ जथाभावी रुपमा पार्किङ गरि राखिएका सवारी साधनहरुका कारण ट्राफिक व्यवस्थापन अस्त व्यस्त बनेको छ।

बसपार्कदेखि नेपाल बैंकसम्मको सडक अत्याधिक व्यस्त सडकको रुपमा रहेको छ ।

बालमन्दिरदेखि मेन चौकसम्मको सडकमा विभिन्न बैंकहरु रहेका छन् ।ती बैंकहरुमा आउने सेवाग्राहीहरुले सडकको दुवै छेउ अव्यवस्थित रुपमा पार्किंग गर्ने गरेका छन् ।

यसरी दुवैतर्फ पार्किङ गरेर राखिएका सवारीसाधनका कारण सो बाटो भएर ओहोरदोहोर गर्न अन्य सवारीसाधन तथा पैदल यात्रुलाई समस्या हुने गरेको एक व्यापारीले बताए ।एकातिर चालकको मनमानीले हुने गरेको सवारी पार्किङ र अर्को तर्फ स्थानीय पसलेहरुले सडक छेउमै फुटपाथ समानहरु थुपारेर बेच्न थालेपछि पैदल हिंड्न समेत गार्‍हो हुने गरेको स्थानीय संजय पाण्डे र ज्योतिषाचार्य प्रभाकर झाले बताए।

सम्बन्धित नियमनकारी निकायको लापरबाही र उदासीनताले गर्दा मलंगवा बजारको सडक पार्किङ स्थल बन्दै गएको छ भनै फुटपाथका व्यापारीहरुको लागि मलंगवाको सडक खुला गोदाम बन्दै गएको छ ।

अव्यवस्थित पार्किङ तथा फोहर व्यवस्थापनको अभावमा दिनहुँ स–साना सवारी दुर्घटना समेत हुने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

बजार क्षेत्रमा प्रशासनको नाममा २ ४ जना प्रहरीहरु रहेका तापनि उनीहरुले कुनै काम नगरी डुली मात्रै राख्ने स्थानीयवासीको आरोप छ । प्रहरीले खुला छुट दिएकै कारण मनोमानी गर्नेहरु बढेको स्थानियहरुको आरोप छ।