मधेशटप,फागुन ५

धरान–धनकुटा लोकमार्गमा पर्ने निसाने जङ्गलमा हत्या गरेर फालिएको मानिसको टाउको र दाहिने खुट्टा भेटिएको छ। सुनसरीको धरान उपमहानगरपालिका–४ मा दाउरा काट्न जङ्गल गएका स्थानीयले दुर्गन्ध फैलिएपश्चात खोजि नीति गर्दा जेब्रा झोलामा मानिसको टाउको र खुट्टा भेटिएको छ।

मानिसको टाउको र खुट्टा भेटिए पश्चात तत्काल प्रहरीलाई खबर गरेपछि तत्काल इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी परिचालन गरी निसाने जङ्गलमा हत्या गरी फालिएको मानिसको टाउको र दाहिने खुट्टा बरामत गरिएको डीएसपी नरेन्द्र कुवँरले जानकारी दिएका छन।

उनले घटनाको मुचुल्का तयार गरी टाउको र खुट्टा शल्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिए। टाउकोमा दाह्री पलाएकाले खसआर्य समुदायको मानिसको हत्या भएको अनुमान गर्न सकिने उनको भनाई छ।घटनाको प्रकृति हेर्दा कसैले मानिसको हत्या गरेको प्रहरीको जनाइएमो छ।

हत्या गरिएका मानिसको पहिचानका लागि सुनसरी, मोरङ, उदयपुर, धनकुटा लगायतका छिमेकी जिल्लाका प्रहरी कार्यालयहरुलाई पत्राचार गरिएको डीएसपी कुवँरले बताएका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ।