जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादवले छोरीको ४२ वटा साईकल खाइदिएको खुलेको छ ।

मधेश प्रदेशको पर्सा जिल्लास्थित एक समुदायिक विद्यालयसँग भरपाई ४२ वटा साइकल वितरणको भपाई लिएपनि साईकल वितरण नगरेको पाइएको छ ।

मुख्यमन्त्री राउतका स्वकीय सचिव (पिए) यादवले ३ महिना अगाडी पर्सा जिल्लाका केही विद्यालयसँग साइकल उपलब्ध गराई दिन्छु भनी भरपाई लिएर साइकल वितरण नगरेको पाइएको हो ।

मुख्यमन्त्री राउतको लोकप्रिय कार्यक्रम “मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत यादवले पर्साको जिराभवानी गाउँपालिकाका ३ वटा विद्यालयसँग भरपाई गराएर साइकल उपलब्ध नगराएको विद्यालयको व्यवस्थापन पक्षले जनाएको छ ।

यादवले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय कठकुइँया, वडा नम्बर ३ नवकाटोलास्थित श्री वितो महतो जनता माद्यामिक विद्यालय र वडा नम्बर ५ शंकरसरैयास्थित श्री सरस्वती आधारभूत विद्यालयसँग साइकल उपलब्ध गराए वापतको भरपाई लिकर साइकल दिएका छैनन् ।

कागजी प्रक्रिया मिलान गर्नुपर्ने भन्दै यादवले विद्यालयको आधिकारीक लेटर प्याडमा साइकल वितरण भइसकेको भन्दै भरपाई गराएर केही दिनभित्रै साइकल उपलब्ध गराउँछु भनेर आश्वाशन दिएको ३ महिना बितिसकेको वितो महतो माद्यामिक विद्यालयका प्रधानाध्यापक रामाशंकर प्रसाद चौधरीले बताए ।

यादवले बेटी पढाउ, बेटी बचाउसँग आबद्ध नभएपनि उनले आफ्नो कार्यक्षेत्र बाहिर गएर विद्यालयसँग भरपाई गराएका छन् ।

जानकारहरुसँग बुझ्दा यादव मुख्यमन्त्री राउतको स्वकीय सचिव भएपनि उनलाई प्रदेश सरकारले चलाएको अभियान तथा कार्यक्रमहरुमा कुनैपनि प्रकारको आधिकारीक हस्तक्षेप गर्ने अधिकार छैन ।

यद्दपी, यादवले आफ्नो अधिकार क्षेत्र बाहिर गएर विद्यालयहरुसँग भरपाई बुझेर एउटा कागजको टुक्रामा टोकन दिएका छन् ।

साइकलका लागि फोन गर्दा यादवले १ हप्ता भित्र हुन्छ भनेर टार्ने गरेको विद्यालयका प्रधानाध्यापकहरुको गुनासो छ । “साइकल कहिले पाउँछ भनेर सोध्न मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवलाई फोन गर्दा उनले अर्को १ साता भित्र हुन्छ भन्ने गरेका छन्, त्यस्ता कयौँ एक साता बिते अहिलेसम्म साइकल आएन” अब त उनले फोन नै उठाउँन छोडेका छन् ।” प्रधानाध्यापक चौधरीले भने ।

शैक्षिक सत्र २०७७र७८ मा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने योजनाअनुरुप जन्मदर्ताको प्रतिलिपि, नाम, रोल नम्बर, ईआईएमएससहितका विवरण लिएका विद्यार्थीहरुले साइकल कहिले पाउँछु सर ? भन्दै प्रश्न गर्दा आफु अनुत्तरित हुने गरेको कठकुइँया आधारभूत विद्यालयका प्रधानाध्यापक कृपासिन्धु प्रसाद पटवारीले बताए ।

पटवारी थप्छन्, ‘साइकल बुझिसक्यौ भनेर भरपाई बनाइदियौँ, साइकल लिनका लागि दिएको टोकन कतै हरायो कि भन्ने डरले सताईरहन्छ ।, ४÷५ दिन बिराएर उक्त टोकन हेरिरहन्छु ।’

२०७८ असोज १३ गते अख्तियारले मुख्यमन्त्रीको बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो ।

अख्तियारलाई कागजी रुपमा प्रमाण पेश गर्नका लागि साइकल प्राप्त गर्न निवेदन दिएका सबै विद्यालयहरुलाई जिल्ला समन्वय समिति पर्सामा बोलाएर एकैदिन सबैसँग भरपाईसमेत बनाउन लगाइएको रहस्य बाहिरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादवले विद्यालयसँग साइकल उपलब्ध गराईएको भनेर बुझेको भरपाईको प्रतिलिपी ।

साइकल वितरण अभियानअन्र्तगत प्रति साइकल लगभग साढे ७ हजारका दरले बिल बनाइएको छ । सोहीअनुसार बिते महतोमा ४२ थान, कठकुइँया आधारभूत विद्यालयमा २१ थान र सरस्वती आधारभूत विद्यालयमा २० थान गरेर जम्मा ८३ थान साइकल ३ महिनासम्म पनि वितरण भएको छैन ।

प्राप्त जानकारीमा ३ वटा मात्रै भएपनि जिल्लाका अन्य विद्यालयमा पनि यस्तै घटना भएको हुन सक्ने बुझिएको छ । कागजी रुपमा बुझिसकेको देखाउने र ति साइकल मध्यस्तकर्ताहरुले पचाउन खोजेको हो कि भन्ने आशंका पनि उब्जिएको छ ।

मुख्यमन्त्री राउतले साइकल वितरण र बेटी पढाउ, बेटी बचाउ कार्यक्रमा कुनै अनियमितता नभएको दावी गरेपनि आफ्नै गृह जिल्लामा उनको निर्देशनमा स्वकीय सचिव दीपक यादवले ३ वटा विद्यालयलाई ठगेका छन् ।

साइकल वितरण नगर्दै साइकल बुझिसकेको भनेर भरपाई लिनुले यसमा अनियमितता भएको अनुमान लगाउन सकिन्छ ।

मुख्यमन्त्रीको कार्यालयले साइकल लिनका लागि ८ कक्षासम्म पठनपाठन हुने विद्यालयले निवेदनसहित माग गरेपछि विद्यालयको सिफारिसका आधारमा १ देखि २ हप्ताभित्र साइकल वितरण गर्ने गरिएको उक्त कार्यक्रमका पर्सा जिल्ला संयोजक आमोद यादवले बताए ।

निवेदन दिएको १५ दिनपछि ६ थान साइकल प्राप्त गरेर मात्रै भरपाई दिएको वीरगञ्जको गहवास्थित श्री बालविद्या मन्दिर इन्दुलाखे आधारभुत विद्यालयका तत्कालिन प्रधानाध्यापक चन्देश चौहानले बताए ।

पर्सा जिल्लाभरीमा कति वटा विद्यालयलाई कति थान साइकल वितरण गरिएको हो भनेर तथ्याङ्क माग गर्दा मुख्यमन्त्री राउतका स्वकिय सचिव दिपक यादव भोली दिन्छु भन्दै पन्छिन खोजेका छन् ।

पटक–पटक फोन सम्पर्क गर्दा पनि नउठाउने र उठाएको बेला व्यस्त रहेको भन्दै अरुलाई उठाउन दिनुले यादव पन्छिन खोजेको स्पष्ट भएको छ ।

यता, बेटी पढाउ, बेटी बचाउ अभियानकी सहजकर्ता प्रियंका यादवसहित कार्यक्रमको वेवसाइटमा रहेका सबै नम्बरमा पटक–पटक फोन गर्दा पनि फोन उठेन ।