मधेशटप फागुन १२ गते ।

जनकपुरधाम; समयमा उपचार नहुँदा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएकालाई अस्पताल नलगी घर लैजाँदा मृत्यु भएको खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१२ कुँवाका ३० बर्षीय सन्दीप यादवको उपचार अभावमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

साथीसँग घर जाँदै गर्दा बुधबार राति यादव सवार मोटरसाइकल दुर्घटना भएको थियो ।

मोटरसाइकलको पछाडि बसेका यादव गम्भीर घाइते भएपनि उनलाई अस्पताल पुर्‍याउनुपर्नेमा मोटरसाइकल चालकले घरमै लगेर राखिदिएको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताएका छन ।

डीएसपी बस्नेतले घाइतेलाई अस्पताल पुर्‍याउनुपर्नेमा राति ११ बजेतिर घरको बरण्डामा लगेर छोडिदिएको देखिएको बताएका छन ।

राति १ बजेतिर घरका सदस्य उठेपछि सन्दीपलाई घाइते अवस्थामा देखे पछि उनलाई बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको डीएसपी बस्नेतले जानकारी दिएका छन ।

प्रहरीले घाइते भएका यादवलाई घरमा लगेर छाडिदिने मोटरसाइकल धनीलाई नियन्त्रणमा लिएको छ ।