मधेशटप फागुन १३ गते ।

गायक तथा मोडल दुर्गेश थापालाई महोत्सवबाट हटाइएको छ । अभिनेता पल शाहको केसमा जोडिएपछि आज शुक्रबारबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट उनलाई हटाएको हो ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुन लागेको हो । दुर्गेशले महोत्सवमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको थियो ।

अभिनेता पल शाहको प्रकरणमा विवादित भएपछि महोत्सव र उनी दुबैलाई राम्रो नहुने देखेर कार्यक्रमबाट हटाइएको महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिब यज्ञराज जोशीले बताएका छन । ‘

महोत्सवमा सर्वसाधारणको भीड हुन्छ । त्यो भीडमा दुर्गेश माथि हातपात भयो भने हामी सुरक्षा दिन सक्दैनौ’ जोशीले भने, ‘पब्लिक तथा उनको सुरक्षा दुबै कुरोमा ध्यान राखेर हटाइएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबाट आजै मध्यान्ह २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवमा १ लाख बढी मानिसको सहभागिता रहने आयोजकको दाबी छ ।

महोत्सवमा देशका चर्चित कलाकारको अलवा सुदूरपश्चिमका स्थानीय कलाकारको समेत सहभागिता रहने महोत्सव अत्तरिया पूर्व रोडमा रहेको खुल्ला स्थानमा आयोजना गरिएको छ ।