मधेशटप डेस्क,फागुन १४

अभिनेता पल शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी पर्नुअघि ४ जनाले ‘फसाउने’ सल्लाह गरेको अडियो सार्वजनिक भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पलले बिहीबार साँझ ६ वटा फरक अडियो सार्वजनिक गरेका छन् ।भिडियो निर्देशक सरोज ओली, गायक तथा मोडल दुर्गेश थापा, कृष्ण जोशी र सम्राट चौलागाईंले आफूविरुद्ध षड्यन्त्र गरेको शाहको आरोप छ । अडियो कुराकानीमा एउटी महिलाको स्वर सुनिन्छ ।

ती महिलालाई पुरुषहरुले भनेका छन्, ‘अब अरुबाट त्यसलाई गिराउन सकिन्न, त्यसलाई पतन बनाउने तिमीले मात्र हो ।सो घटनामा आफूहरु देखिन नमिल्ने भन्दै दुईजना पुरुषले ती किशोरीलाई पल विरुद्ध बलात्कार मुद्दा अघि बढाउन आग्रह गरेका छन् ।

जिल्ला अदालत तनहुँले पक्राउ पूर्जी जारी गरेसँगै प्रहरीले पललाई खोजिरहेको छ । उनीविरुद्ध बलात्कारको उजुरी दिने किशोरीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले मेडिकल जाँच गराएको छ ।

आरोपीलाई पक्रेर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताएका छन ।पल प्रकरणमा सामाजिक सञ्जालमा छरपस्ट भएको अडियोबारे के हुन्छ भन्ने प्रश्न उठेको छ ।

प्रहरी र सरकारी वकिल कार्यालयले बलात्कृत किशोरीको तर्फबाट अनुसन्धान र बहस गर्छन् ।

सरकारी निकायले सो अडियोलाई अन्देखा गर्छन् । तर, मुद्दाको बहस गर्दा पल शाह पक्षका कानुन व्यवसायीले सो अडियोलाई प्रमाण लगाउन माग गर्न सक्छन् ।

परीक्षण गरिएको अडियोलाई अदालतले प्रमाण मान्ने बताउँछन् वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोसँग आवाज हो कि होइन भनेर परीक्षण गर्न मिल्ने प्रविधि छ ।

मेरिकी सरकारले दिएको भ्वाइस स्पेक्टर्म एनालाइजर मार्फत अडियो परीक्षण गरिन्छ । एनालाइजरले ८० प्रतिशत आवाज मिलेको रिपोर्ट दिएमा त्यसलाई अदालतले प्रमाणको रुपमा लिने गरेको छ ।