मधेशटप डेस्क,फागुन १४

अमेरिकी अर्थ मन्त्रालयले औपचारिक रूपमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभ्रोफविरूद्ध प्रतिबन्ध लगाएको छ।विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु दुर्लभ घटना हो र यो युरोपेली सङ्घ, युके र क्यानडाले गरेका निर्णयपछि आएको छ।
रूसी सुरक्षा परिषदका अन्य सदस्यहरूमाथि पनि प्रतिबन्ध लगाइएको एजेन्सीहरूले बताएका छन्।

रूसले आक्रमण गरेको तेस्रो दिन युक्रेनको राजधानी किएभमा विस्फोटका विवरणहरू आइरहेका छन्।

अधिकारीहरूका अनुसार युक्रेनका विभिन्न ठाउँमा भीषण सङ्घर्ष भइरहेको छ।

प्रत्यक्षदर्शीका अनुसार किएभमा गरिएका बमबारीको आवाज सहरको मध्यभागबाट कोसो टाढासम्म सुन्न सकिन्छ।

किएभ इन्डिपेन्डन्टका अनुसार सहरको चिडियाखाना र सुलियाभ्कानजिकै अवस्थित एउटा क्षेत्रबाट ५० वटाभन्दा बढी विस्फोटनहरू सुनिएको छ र मेसिन गनबाट गोली प्रहार भइरहेको सुनिएको छ।

ट्रोइयस्चना जिल्लाको सिएचपी सिक्स ऊर्जा केन्द्रनजिकै लडाइँ भइरहेको युक्रेनी सेनाले जनाएको छ। सहरमा विद्युत् आपूर्ति बन्द गरिदिने उद्देश्यले उक्त आक्रमण गरिएको हुनसक्ने ठानिएको छ।

भ्यासिलकिभनजिकै रहेको एउटा हवाइअड्डामा पनि भीषण सङ्घर्ष भएको विवरण आएको छ।

युक्रेन सरकारले राजधानी किएभका चोकहरूमा लडाइँ जारी रहेको बताएको छ।रुसी फौज किएभनजिकै आइपुग्दा शनिबार बिहानबाटै किएभका विभिन्न ठाउँमा विस्फोटनका विवरण आएका छन्।