जनकपुरधाम, फागुन २० गते। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध सुमधुर बनाउन साझेदारी विकास कोष सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ ।

स्थानीयतहहरुका लागि नवप्रवर्तन साझेदारी कोष (आइपीएफ) कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले स्थानीयतहलाई आर्थिक विकास , सुशासन, सेवाप्रवाहमा प्रभावकारिता लगायतको विशेष क्षेत्रका लागि आइपीएफ सहायक सिद्ध हुने बताउनु भयो ।

नवप्रवर्तन साझेदारी कोषको कार्यान्वयन सिस्टममा रहेको अन्यौलता अन्त्य गर्दै संघीयताको औचित्य पुष्टि गर्ने आधार समेत रहेको उहाँको कथन थियो ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका निर्देशक एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शिवनाथ पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव कृष्णवहादुर राउत, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारी सहितले आ–आफनो धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सर्लाही, रौतटह, बारा र पर्साका स्थानीयतहका प्रमुख , उपप्रमुख, कार्यकारी अधिकृत, योजना शाखाका प्रमुख सहितको सहभागिता रहेको थियो ।