मधेशटप समाचारदाता,

संजीत कुमार मंडल,

महोत्तरी।  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित सेञ्चुरी कमर्सियल बैंकले आज आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा जलेश्वर नगरपालिकालाई ५० पिस डस्टबिन प्रदान गरेको छ ।

जलेश्वर नगरपालिकाले सञ्चालन गरेको ‘क्लिन जलेश्वर, ग्रिन जलेश्वर’ अभियानमा सहयोग गर्ने उद्देश्यले सेञ्चुरी बैंकले आफ्नो वार्षिक उत्सवको अवसरमा आज जलेश्वरमा ‘वित्तीय साक्षरता तथा डस्टबिन हस्तान्तरण कार्यक्रम’ को आयोजना गरी ५० बिन डस्टबिन प्रदान गरिएको हो ।

सेञ्चुरी कमर्सियल बैंक जलेश्वर शाखाका प्रबन्धक मुकेश जयसवालले जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई ५० पिस डस्टबिन हस्तान्तरण गर्नुभयो ।

डस्टबिन प्राप्त गर्नुहुँदै जलेश्वर नगरपालिकाका मेयर मिश्रले सेञ्चुरी बैंक परिवारलाई सर सफाईको अभियानमा जलेश्वर नगरपालिकालाई डस्टबिन सहयोग गरेकोमा धन्यवाद दिनुहुँदै बैंकको यस सहयोगलाई सही सदुपयोग गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

सोही कार्यक्रममा बैंक प्रबन्धक जयसवालले उपस्थित जलेश्वर नगरपालिकाका व्यापारी, बुद्धीजीवी तथा नागरिक समाजलाई अहिले डिजिटल युगमा बैंकको अनिवार्यता तथा महत्वबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा जलेश्वर उद्योग बाणिज्य संघका अध्यक्ष लवराजा सिंह, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल लगायतका व्यक्तिहरुले सेञ्चुरी बैंकले महोत्तरीका निक्कै सहजता प्रदान गरेको तथा जिल्लाबासीलाई आधुनिकताप्रति आकर्षित गर्दै लगेको जिकिर गर्नुभएको थियो ।