ममता शर्मा,
गौशाला ,फाल्गुन २८

महोत्तरीको गौशालामा होली महोत्सव सम्पन्न भएको छ ।

गौशाला बजार स्थित रेडियो रुपान्तरण १०६.३ मेगाहर्जको आयोजनामा आउदै गरेको हिन्दुहरुको महान पर्व होलीको अवसरमा आज होली महोत्सव कार्यक्रम भएको छ ।

कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य तथा होरैया गित प्रतियोगिता समेत गरिएको छ । सांस्कृतिक नृत्य तथा होरैया गित प्रस्तुत गर्ने व्यक्तिहरुलाई आयोजकले सम्मान स्वरूप सम्मान पत्र र मादल प्रदान गरिएको रेडियोका संचालक धनवीर महतोले जानकारी दिएका छन् ।

जनसमुदायको विशाल सहभागिता रहेको होली महोत्सव कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह ,माननीय शारदा देवी थापा ,अखिल क्रान्तिकारी (अनेरास्ववियु ) का नेता सूर्यनारायण साह ,नगर प्रमुख शिवनाथ महतो ,इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याल लगायत विभिन्न पार्टीका प्रतिनिधि ,समाजसेवी तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै मन्त्रि साहले हाम्रो मौलिक परम्परा मुल्य मान्यताको संरक्षण एवं संवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

समाजको रुढिवादी परम्परा तथा कुप्रथालाई भन्दा सांस्कृतिक मुल्य मान्यतालाई बढावा दिनु अत्यावश्यक छ उनले भने, “नराम्रा विकृतिका रुपमा आजभोली देखा परेका चलनलाई समाजबाट उन्मुलन गर्नुपर्छ । भावी पुस्तालाई मध्यनजर गर्दै धार्मिक आस्था बोकेका परमपराको जगेर्ना गर्नु हाम्रो प्रमुख दायित्व हो । ”

त्यस्तै नगर प्रमुख शिवनाथ महतोले जनसमुदायमा होलीको शुभकामना दिदै रेडियो रुपान्तरणले गरेको कार्य सम्मान जनक रहेको बताएका छन् । उनले मिथिलाको परम्परा झल्किने कार्यक्रम राखेकोले रुपान्तरण मिडियालाई धन्यवाद ज्ञापन गरेका छन् ।

साथै उनले यस्ता संस्कृति जोगाउने कार्यक्रमहरुमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।