सञ्जीतकुमार मण्डल,

महोत्तरी, २ चैत्र गते । नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयको आयोजना एवं महोत्तरी जिल्ला शाखाको आतिथ्यमा बुधबार महोत्तरीको सदरमुकाम जलेश्वरमा ‘ गैर-खाद्य सामग्री अध्ययन’ सम्बन्धी एक दिने कार्याशाला सम्पन्न भएको छ ।

उक्त कार्याशालाको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै नेपाल रेडक्रस सोसाईटीका निर्देशक धर्मदत्त बिडारीले गैरखाद्य सामग्रीको पूर्वानुमान, योजना र वितरण प्रविधि तथा उपकरणको प्रभावकारी उपयोग कसरी गर्न सकिन्छ भनी अध्ययन गर्ने कार्यका सन्दर्भमा कार्याशालाको आयोजना गरिएको बताउनुभयो ।

कार्याशालाका प्रमुख अतिथि महोत्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले नेपाल रेडक्रस सोसाईटीले ५०औं वर्षदेखि गैरखाद्य सामग्री वितरण गर्दै आएको र त्यसमा तुरुन्त राहत पुर्‍याउने गरी प्रविधिमैत्री बनाउन अध्ययन गर्न लागिएकोमा धन्यवाद सहित शुभकामना व्यक्त गर्नुभयो ।

भने कार्यक्रमका अध्यक्षता गर्नुभएका नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाका सभापति दिपक मिश्रले आफ्नो मनतव्य राख्नु्हुँदै गैरखाद्य सामग्री वितरणमा कसरी प्रभावकारिता ल्याउने भन्ने विषयमा रेडक्रस प्रयत्नशिल रहेको बताउनुभयो ।

सम्पन्न कार्याशालामा महोत्तरीका जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन, खानेपानी, रेडक्रस र समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।