जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिकाले नागरिकको स्वास्थ्य उपचारमा राम्रो सेवा प्रदान गर्ने  उद्देश्यले नगरक्षेत्रमा शहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ।

जनकपुरधाम उप-महानगरपालिका  नगरवासीको स्वास्थ अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा अझ र सहझ सेवा  पुर्‍याउने नीति तथा योजना अन्तर्गत उपमहानगरपालिका भित्र विभिन्न ११ वटा वडामा शहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको हो।

जनकपुरधाम  उप-महानगरपालिकाले वडा नम्बर  ७, १२, १३, १४, १५, १८, १९, २०, २२, २३ र २४ मा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको हो। त्यसका लागि भवन निर्माणको कार्य तीव्र रुपमा अघि बढाइएको  जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रध्युमन प्रसाद  उपाध्यायले बताए ।

जनकपुरधाम उप-महानगरपालिकाको सबै वडामा स्वास्थ्य केन्द्र संचालन रहेको छ। तर नगरको २५ वडा मध्ये १४ वटा वडाको स्वास्थ्य केन्द्र आफ्नै भवनमा सञ्चालन गरिरहेका छन्। भवन अभाव रहेका ११ वटामा स्वास्थ्य केन्द्रको भवन निर्माणको कार्य थालिएको उनले बताए।

आफ्नो भवन नभएका वडाहरूले विद्यालय र वडा कार्यालय भवनमा कतिपय घर भाडामा लिई स्वास्थ्य चौकी सञ्चालन गरिँदै आएको थियो। पटकपटक ठाउँ परिवर्तन जस्ता समस्याले गर्दा सेवा लिन आउने नगरवासी र सेवा दिने स्वास्थ्य केन्द्रलाई समस्या हुने गरेकोले सहज रुपले स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै भवन निर्माण कार्य अघि बढाइएको अधिकृत उपाध्यायले बताए।

एघार वटै स्वास्थ्य केन्द्रको भवन निर्माण लागि कुल चार करोड ४७ लाख २९ हजार ७२ सय ९ रुपैया बजेट छुटयाइएको छ, जसमध्ये कतिपय निर्माणको अन्तिम चरणमा छ भने कतिपय निर्माणकै क्रममा रहेकाले औसत करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको योजना शाखाका प्रमुख विरेन्द्र यादवले जानकारी दिएका छन्।

उनका अनुसार उपमहानगरपालिकाले चालु आ.ब.को जेठ मसान्त भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरी गत आर्थिक वर्ष २०७८ साल जेठ ५ गते नै रामजानकी निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरेको थियो।