जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह र बेलायती राजदूत निकोला पोलिट बीच भेटवार्ता भएको छ ।

जउनपा मेयर लाल किशोर साहको कार्यकक्षमा भएको भेँटमा राजदूत पोलिटले जनकपुरधामको विकास निर्माण तथा पर्यटन सम्वन्धी जिज्ञासा राखेका थिए ।

उनले जनकपुरधामको विकास र पर्यटन प्रवद्र्धनकालागि बेलायत सरकार प्रतिवद्ध रहेको भन्दै सक्दो सहयोगको प्रतिवद्धता समेत व्यक्त गरेकी थिइन् ।

बेलायती राजदूत पोलिटले यहाँको विकास निर्माण तथा पर्यटन प्रवद्र्धनमा संघ र प्रदेश सरकारले के कति सहयोग गरेका छन् सो बिषय समेत उठान गरेकी थिइन् ।

जवाफमा मेयर साहले यहाँको विकास निर्माणमा जनकपुरधाम उप–महानगरको बजेटले भएको र सडक एडिविको ऋण सहयोगमा बनेको जसको ब्याज जनकपुरधामवासीको करले तिर्ने गरेको जानकारी दिए । उनले भने–‘संघ सरकारको वक्रदृष्टिले जनकपुरधामको विकासमा अवरोध गरेको छ । हामी संघ सरकार संग आशा राखेपनि त्यो अहिले सम्म पाउन सकेको छैन् ।’

जनकपुरधाममा पर्यटनको प्रचुर सम्भावना रहेपनि संघ सरकारले कुनै चासो नलिएको गुनासो समेत गरेका थिए ।

यहाँ रहेका भौतिक संरचनाहरु र यहाँका कला, संस्कृति हेर्न विदेशीहरु यहाँ आउछ तर, उनीहरु त्यो नहेरि फर्कीने अवस्था रहेको समेत मेयर साहले गुनासो पोखेका थिए ।