काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले बुधवार बैठक बसेर स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वःघोषणा गर्नुपर्ने शर्तहरू सार्वजनिक गरेको हो ।

आयोगले उम्मेदवारी दर्तासँगै उम्मेदवारले १९ वटा विषयमा स्वःघोषणा गर्नुपर्ने त्यसमा उम्मेदवार नै जिम्मेवार हुनुपर्ने प्रावधान तोकेको छ ।

त्यसमध्ये आयोगले कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न भएको व्यक्ति स्थानीय चुनावमा उम्मेदवार बन्न नपाउने प्रावधान तोकिएको छ ।

त्यसैगरी, स्थानीय तहलाई कुनै नगद वा जिन्सी बुझाउन बाँकी नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको व्यक्ति मात्रै उम्मेदवार हुन पाउने आयोगले शर्त तोकेको छ ।