जनकपुरधाम : शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको चैती छठ सम्पन्न भएको छ।

जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा विभिन्न पोखरी, ताललगायत पानीको मुहान क्षेत्रमा घाट बनाई छठ पर्वको लागि सजाइएको थियो। शुक्रबार बिहान छठ ब्रतालुहरुले सूर्यलाई अर्घ दिएका छन्।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन मंगलबार नहायखाय भएको थियो। दोस्रो दिन खर्ना सम्पन्न गरियो भने छठको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो। शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ सम्पन्न भएको हो।

मिथिलाञ्चलमा कार्तिक र चैत महिनामा छठ पर्व मनाइन्छ। कार्तिकमा अधिकांशले छठ मनाउने गर्छन् भने चैतमा केहीले मात्र मनाउने गरेका छन्। पछिल्लो समय चैती छठ मनाउनेको संख्या बढ्दै गएको छ।