जनकपुरधाम : श्रीमज्जगदगुरू शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपाल हिन्दू राष्ट्र नै रहेकोले कुनै नेताको प्रतीक्षा गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

रामनवमी पर्वको अवसरमा जनकपुरधाममा आयोजना गरिएको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपाल सुरक्षित रहे मात्रै भारत सुरक्षित रहने धारणा राखे ।

‘नेपाल र भारतको सुरक्षाका लागि हिन्दू राष्ट्र कायम हुनु आवश्यक छ, उनले भने ‘मलाई कुनै नेताको आवश्यकता छैन, नेपाल हिन्दू राष्ट्र हो र रहिरहन्छ । म घोषणा गर्छु ।’

नेपाल र भारतको सांस्कृतिक धरातलमा एकरुपता रहे पनि पछिल्लो समय नेपाल चीनको षड्यन्त्रमा फस्न लागेकाले त्यसतर्फ सावधान हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

‘नेपाल भारतको सांस्कृतिक धरातल एउटै छ, खासगरी दुई देशबीचको भाग अर्थात् मिथिलाञ्चल क्षेत्र, तर चीनको षड्यन्त्रमा नेपाल नफसोस्, उनले भने ।’

शंकराचार्यले नेपाल र भारत दुवै देशले आफूलाई हिन्दू राष्ट्र कायम गर्यो भने एक वर्षभित्रै विश्वका १५ वटा देशले आफूलाई हिन्दू राष्ट्र कायम गर्ने दाबी गरे ।

उनले आफ्नो मन्तव्यको क्रममा नेपालका राजनीतिज्ञहरुलाई चेतावनी दिएका थिए । उनले भने,‘ओलीजी, प्रचण्डजी सावधान आफ्नो पूर्वजको विषयमा ज्ञान राख्नुस् । मृत्युपछि धर्मले नै साथ दिन्छ वितण्डावादले तपाईंलाई साथ दिँदैन ।’