जनकपुरधाम :  मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले संघीयताको समीक्षा गर्ने बेला नआएको धारणा राखेका छन् ।

संघीय अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा सातै प्रदेशका अर्थमन्त्रीहरु तथा अर्थविज्ञहरुको सहभागितामा अन्तर सरकारी वित्त परिषद्को बैठकमा मन्त्री साहले सो कुरा उठाएका हुन् ।

नेपालमा पनि आर्थिक संकट उत्पन्न हुनेसक्ने चौतर्फीा बहस चलिरहेको बेला मधेश प्रदेशका अर्थमन्त्री साहले अर्थतन्त्रलाई उकास्न र आर्थिक संकटबाट जोगाउन विभिन्न बुँदाहरु राखेका छन् ।

अर्थमन्त्री साहले उत्पादनमुखी अर्थतन्त्र, आर्थिक समृद्धीका लागि कृषि क्षेत्रको रुपान्तरण, पुँजी, आम्दनी र उत्पादन बढाउनका लागि पूर्वाधारको निर्माण, शिक्षा, स्वास्थ क्षेत्रलाई प्राथमिकीकरणमा जोड दिनुपर्ने धारणा राखेका हुन् ।

यसैगरी, उनले तीन तहको अधिकार क्षेत्रमा स्पष्टता, बजेट कम खर्च हुनुको कारण, साधारण खर्चमा कटौती, अगामी वर्षको बजेटमा सुझाव, आयातलाई प्रतिस्थापन र निर्यात अभिवृद्धिको रणनीति, रेमिट्यान्सको व्यवस्थापन, कोशी कमला मरिन डाइभर्सन र चुरे संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका थिए ।