काठमाडौँ : फागु पुर्णिमाको साँझ सप्तरीका चार जना युवाले सँगै बसेर गाँजा खाए। तर गाँजा खाने क्रममा त्यो रात उनीहरुको झगडा भयो।

झगडामा सप्तरीको रुपनी गाउँपालिका ५ का २५ वर्षीय अंसारुल मियाँ मारिए।

उनी मारिनुको कारण साथीहरुलाई उनले मोबाइल हेर्न नदिनु रहेको सप्तरीका डीएसपी माधव प्रसाद काफ्लेले बताए।

भोलिपल्ट उनका बुबा ताहिर मियाँ छोरो हराएको भन्दै प्रहरी कार्यालय पुगे। प्रहरीले सबैतिर उनको खोजी गर्यो। फेला पार्न भने सकेको थिएन।

तीन दिनपछि चैत ७ गते बिहान ९ बजेतिर समर्थ सिंहको पोखरीमा अंसारुलको शव उत्रियो।

अंसारुलको हत्या अभियोगमा सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्यो रात उनीसँगै गाँजा खाने तीन जना छन्। उनीहरुले हत्या गरेको स्वीकार गरेको काफ्लेले बताएका छन्।

पक्राउ पर्ने तीनै जना सोही गाउँका हुन्। रुपनी ५ कै २१ वर्षीय रामप्रवेश खंग, २० वर्षीय दीपककुमार खंग र २१ वर्षीय लालु भन्ने जयराम खंग रहेका छन्।

‘उनीहरुबीच मोबाइल हेर्ने विषयमा झगडा भएको रहेछ। अंसारुलले आफ्नो मोबाइल हेर्न अलाई दिएन छन्। त्यही विषयमा झगडा हुँदै जाँदा हत्या भएछ’, डीएसपी काफ्लेले भने।

हत्यापछि शव पोखरीमा डुवाउनका लागि उनीहरुले इट्टा बाँधेर फालिदिएका थिए। तर पोखरीमा पानी घटेपछि शवको केही भाग देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

२० दिन लामो अनुसन्धानपछि प्रहरीले सोही ठाउँका तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ।