काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार (आज) नेपाल आउँदै छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज दिउँसो १२ः२५ बजे नेपाल आइपुग्दै छन्।
तीनदिने भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन्।
त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्। यस्तै नेपाल सरकारका उच्च अधिकारीसहित डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि उनले छलफल गर्नेछन्।
कहानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए। भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ।
महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारी आउने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी वैशाख १० गते नेपालबाट फर्किने कार्यक्रम छ। रासस