काठमाडौँ : नेकपा एमालेले स्थानीय तह निर्वाचन-०७९ को घोषणापत्र सार्वजनिक गरेको छ।

नेकपाको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा प्रत्येक नागरिकको घरमा विद्युत सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ।

घोषणापत्रमा भनिएको छ, ‘प्रत्येक नागरिकका घरमा विद्युत सुविधान उपलब्ध गराउने। विपन्न परिवारलाई घरायशी प्रयोगको विद्युत निःशुल्क उपलब्ध गराउने।’

‘आधुनिक ऊर्जाः उज्यालो पालिका’ शीर्षकमा एमालेले विद्युत उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय वृद्धि र पर्यावरण संरक्षण गर्ने लगायतका कार्यक्रम उल्लेख छन्।

एमालेले घोषणापत्र तयार गर्न मस्यौदा कार्यदल निर्माण गरेको थियो। कार्यदलले ५ सय संस्था र व्यक्तिबाट सुझाव लिएर घोषणापत्र तयार गरिएको हो।