जनकपुरधाम : नेपाली काँग्रेस धनुषाको जनकपुर नगरसभापति मनोज कुमार साहले सभापति पद र साधारण सदस्यबाट समेत राजिनामाको घोषणा गरेका छन ।

सभापति साहले आफ्नै निवासमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेस परित्यागको घोषणा गर्दै जनकपुरधाम उपमहानगरपालिकाका लागि मेयर पदमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको हो ।

नगरसभापति साहले नेपाली काँग्रेसले जनकपुरधाम उपमहानगरपालिकामा जसपासँग गठबन्धन गरी मेयर पद छोडेकोप्रति आपत्ती समेत जनाएका छन् ।

उनले भने, ‘मधेश प्रदेशको राजधानी जनकपुरधाम नेपाली काँग्रेसको उर्वरक भूमि हो । जनकपुरधामको मेयर पदमा नेपाली काँग्रेसलाई नदिई जसपालाई दिने निर्णय आत्मघाती निर्णय हो ।

यस्ता निर्णयले नेपाली काँग्रेसले आफ्नो घरमा आगो लगाउने कार्य गरेको छ । काँग्रेस गढलाई समाप्त गर्ने प्रयास गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवालाई यस्तो गर्न नहुने थिए ।

त्यसपछि पनि निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका थियौं, तर निर्णयलाई सच्याइएन । बैशाख ११ गतेभित्रमा निर्णय सच्याएमा काँग्रेसमै पुनः फर्किनेछु, अन्यथा स्वतन्त्राट उम्मेदवारीका साथै सधैंका लागि नेपाली काँग्रेस परित्याग गर्नेछौं ।’

जनकपुरधाम उपमहानगरपालिकाको २५ वटै वडामा नेपाली काँग्रेसकै चेहराको उम्मेदवार हुन्छ । तर चुनाव चिन्ह छाप स्वतन्त्रबाट हुन्छ साहले भने, काँग्रेसको यस्ता क्रियाकलापबाट जिल्लाघरका नेपाली काँग्रेसमा आबद्धहरु असन्तुष्ट छन् ।

अहिलेपनि निर्णय सच्याउन समय बाँकी छ । समयमा काँग्रेसले निर्णय नसच्याएमा बाध्य भएर नेपाली काँग्रेस छोड्ने नै छौं । आजबाट आफू नेपाली काँग्रेसको झण्डा बोक्दैनौं ।’

उनले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसकै चेहराले विजयी हुने विश्वास रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा नगरका कोषाध्यक्ष र सचिवको सहितको उपस्थिति रहेको थियो ।