जनकपुरधाम ।   मधेस आन्दोलनको अग्रणी भूमिकामा रहेकी जनकपुरधामकी नेतृ विभा ठाकुरसहित  नेताकार्यकर्ता तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेका छन् ।

 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी  नेतृ ठाकुरसहित महोत्तरीका नेताहरू सञ्जीव पाठक र विल्टु यादवलगायतका कार्यकर्ताले आइतबार औपचारिक रूपमा लोसपा नेपाल  परित्याग गरी तमलोपाको सदस्यता लिएका छन् ।

नेतृ ठाकुरले लोसपाभित्र एकलौटी निर्णय गर्ने परम्परा नै हाबी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत सम्मान नरहेकोले आफूले पार्टी परित्याग गरेको प्रतिक्रिया दिइन् ।

नवप्रवेशी ठाकुर लगायतकालाई तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह, केन्द्रीय सदस्य बिन्दु ठाकुर, उमेश मण्डल, सतिशलाल दास, जिल्ला अध्यक्ष धिरेन्द्रबहादुर सिंहलगायतले टीका लगाएर पार्टीमा स्वागत गरे ।

केहीदिन पहिले जनकपुरधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्रकुमार साह पनि लोसपा परित्याग गरी तमलोपामा प्रवेश गरिसकेका छन् ।