उमेश कुमार साह
१५ बैशाख ।
सप्तरी। बोदे बर्साईन सप्तरीको बोदे बर्साईनमा बुधबार ट्राफिक जनचेतनामूलक अभियान सञ्चालन सुरु भएको छ।
इलाका प्रहरी कार्यालय बोदे बर्साईन र अस्थाई ट्राफिक प्रहरी कार्यालय बोदे बर्साईनको संयुक्त आयोजनामा यो अभियान थालिएको हो।
बोदे बर्साईन नगरपालिकाको मुख्य बोदे बर्साईन बजार एरियामा आयोजित एक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रहरी बरिस्ठ नायब निरीक्षक सुरेश पालले ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक स्टिकर सार्वजनिक यातायातमा टाँसेर अभियानको शुभारम्भ गरेका हुन्।
पालले सवारी दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष सचेत हुनुपर्ने बताए। ‘ट्राफिक प्रहरी, गाडी चालक र स्वयं यात्रु समेत सचेत हुनुपर्छ’ उनले भने, ‘व्यवसायीले पैसाको लोभमा चालक र सह–चालकलाई यात्रु धेरै बोक्न बाध्य पार्नु हुँदैन।’ सडक विभागको लापरवाहीले समेत दुर्घटना बढ्ने गरेको उनको भनाई छ।
मादक पदार्थ सेवन गरेर चालकले सवारी चलाउदा दुर्घटना हुने स्थानीय अमरेन्द्र कुमार चौरसियाले बताए। मादक पदार्थ सेवन गरेको चालक तथा सह–चालक फेला पारेमा तत्काल सम्बन्धित निकायमा खबर गर्न यात्रुलाई उनले आग्रह गरे।
अस्थाई ट्राफिक प्रहरी कार्यालय बोदे बर्साईन को प्रमुख प्रहरी हवलदार शिव प्रसाद काफ्लेले बुधबार देखि सुरु भएको यो कार्यक्रम स्थानीय तहको समन्वयमा ग्रामीण भेगमा सञ्चालन गर्नुपर्ने बताए। पछिल्लो समयमा सवारी दुर्घटनाबाट मानिस मर्नेको संख्या वृद्धि हुँदै गएको स्थानीय सतेन्द्र यादवले बताए।
‘पहिले चेतनाको कमीले हैजा, झाडापखाला जस्ता विमारले मानिसको मृत्यु हुने गर्दथ्यो’, उनले भने, ‘अहिले सवारी साधन दुर्घटनाको कारण धेरैले ज्यान गुमाउन बाध्य छन्। सार्वजनिक यातायात सुविधायुक्त हुनुपर्छ। चालक र सह–चालक इमान्दार हुनुपर्छ।
एकपटक मौका दिएर उनीहरूलाई सुधार्ने दायित्व सबैको भएको उनले बताए। इलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख पालले ट्राफिक नियम पालना गर्न सुझाव दिए। ‘सडकको अवस्था नाजुक छ। त्यसैमाथि चालकले लापरवाही गरेको पाइन्छ’, उनले भने’, नियम उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ।’ यो अभियानअन्तर्गत सवारी चालक, सह-चालक, यात्रु, व्यवसायीलाई समेत ट्राफिक नियमसम्बन्धी सहजीकरण गर्ने प्रहरी नायब निरीक्षक पालले बताए।
उनका अनुसार पछिल्लो समयमा जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुन थालेको छ। चालु आर्थिक वर्षमा साना ठूला सवारी गरी मानिस घाइते हुने किसिमका धेरै दुर्घटना भएका छन्। यो ५ महिनाको तथ्यांक हो।
यस्तो विकराल अवस्थालाई न्यूनीकरण गर्न सडकमा चालकसँग एक मिनेट लगायतका कार्यक्रम गर्दै आएको उनले बताए। सडकमा चालकलाई भेला गराई प्रशिक्षण दिने, विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक र अभिभावकलाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएको प्रमुख पालले बताए।
उनले नियम उल्लंघन गर्ने चालकलाई समेत कारबाही गरिएको बताए।
अभियान अन्तर्गत बोदे बर्साईनको म्यादी प्रहरीको दर्जनौंको सहयोगमा यो कार्यक्रम सम्पन्न भएको छ।
सीमाना बोडर देखि हाम्रो सीमाना नाकासम्म लगायतको ग्रामीण भेगमा समेत कार्यक्रम सञ्चालन हुने प्रमुख पालले बताए ।
Discussion about this post