जलेश्वर, १५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा मेयरका उम्मेदवार रहनुभएको नेकपा माओवादी केन्द्रका कौशलेन्द्र शर्माले आज आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ ।

जलेश्वरमा अवस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै मेयरका उम्मेदवार शर्माले आफ्नो ५४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।

प्रतिज्ञापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, सुशासन र सामाजिक न्याय, गरीब परिवारलाई पहिचान गरेर राशन कार्डको व्यवस्था, सडक एवं यातायात, उद्योग, ज्येष्ठ नागरिक, युवा, पर्यटन लगायतका क्षेत्रहरुमा उल्लेखनिय विकास गर्ने प्रतिबद्धता जाहेर गर्नुहुँदै उहाँले आसन्न निर्वाचनम आफ्नो  पार्टीलाई मतदान गर्न आव्हान गर्नुभएको हो ।

जलेश्वर नगरपालिकामा करीब एक दर्जन विभिन्न राजनीतिक पार्टीहरु आसन्न निर्वाचनको लागि उम्मेदवारी गराएर चुनावी अभियानमा लागेकोमा प्रतिज्ञापत्र सार्वजनिक गर्ने नेकपा माओवादी केन्द्र पहिलो पार्टी हो ।