काठमाडौँ : पाँच दलभन्दा बाहिर गरिएका चुनावी तालमेललाई सत्तारुढ गठबन्धन खारेज गर्ने निर्णय गरेको छ।

गठबन्धनमा कुरा नमिलेपछि सिन्धुपाल्चोक, भोजपुर, धनकुटा र रामेछाप लगायतका केही स्थानीय तहका तालमेल खारेज हुने भएका हुन्।

सिन्धुपाल्चोकमा नेकपा एमालेसँग मिलेर माओवादी केन्द्रले, रामेछापमा पनि एमाले र माओवादी, भोजपुरमा कांग्रेस र एमाले, धनकुटा एमाले र माओवादीबीच तालमेल गरेर जाने सहमति भएको थियो।

यस्तै मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी र जसपाबीच पनि तालमेल गर्ने सहमति भएको थियो।

७ सय ५३ स्थानीय तह बाँडफाँड गरेका गठबनधनले वडा तहसम्मै मिलेर चुनाव लड्ने समझदारी बनाएका थिए। तर स्थानीय तहमा सहमति नजुट्दा विवाद देखिएको छ।

शुक्रबार बालुवाटारमा बसेको सरकार सञ्चालन समन्वय समिति र शीर्ष नेताहरुको बैठकले पाँच दलीय गठबन्धनबाहिर एमालेसहितका अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने र नमाने कारवाहीप्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

गठबन्धनभित्रै भने मित्रवत प्रतिस्पर्धा गर्न खुला राखिएको छ।