काठमाडौं :  सत्तारुढ दल नेपाली कांग्रेसले आजदेखि देशका विभिन्न स्थान र समयमा खुला चुनावी सभा आयोजना गर्ने भएको छ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयानुसार आयोजना गरिएका सभाहरूमा पार्टीका सभापति, नेता एवं पदाधिकारीलगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

सभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछ। सम्बोधनमा नेता शेखर कोइरालालाई भने समावेश गरिएको छैन।

जसअनुसार वैशाख २१ गते मोरङ (विराटनगर) मा हुने सभामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत अन्य वक्ताहरूले सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ।

यसैगरी वैशाख २२ गते चितवन (भरतपुर)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लगायत वक्ता तय गरिएको छ। वैशाख २३ गते काठमाडौंमा हुने सभामा सभापति देउवा, नेता पौडेललगायत वक्ता छन्।

वैशाख २४ गते रुपन्देही (बुटवल)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगनकुमार थापा, वैशाख २४ गते तनहुँ दमौलीमा हुने सभामा सभापति देउवा, नेता पौडेल, प्रवक्ता डा प्रकाशशरण महतलगायतले सम्बोधन गर्ने छन्।

त्यस्तै वैशाख २४ गते धनुषा (जनकपुर)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे र महेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस्तै वैशाख २५ गते कास्की ९पोखरा०मा हुने सभामा सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियारले सम्बोधन गर्ने छन्।

२५ गते नै दाङ (तुलसीपुर) मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौरलगायतले सम्बोधन गर्ने मुख्यसचिव पौडेलले जानकारी दिएका छन्।

२६ गते कैलाली (धनगढी)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा वैशाख २७ गते डडेल्धुरामा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डेलगायत अन्य वक्ताहरू निर्धारण गरिएको छ।