काठमाडौँ : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आवश्यक मतपत्रको छपाइ सम्पन्न भएको छ। आज शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ।

नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले उक्त जानकारी दिएका हुन्।

मधेस प्रदेशका जिल बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको पनि आयोगले जनाएको छ।

यसैबीच आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देश गरेको छ।

उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ।