काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगरमा मेयरमा उम्मेदवारी दिएका महिलाहरुका लागि मत माग्‍नु आफैंमा गर्वको कुरा भएको बताएका छन्।

सत्ता गठबन्धनले शुक्रबार संघीय राजधानी काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, हिजो भरतपुरमा मेयरको प्रत्यासी महिला नै रहेको ठाउँमा हामीले विचार राख्यौँ।

आज राजधानीमा पनि महिला उम्मेदवारकै निम्ति मत अपिल गर्दै छौँ। यो आफैँमा हामी सबैको लागि गर्वको कुरा हो।

उनले युद्धका समयमा पनि आफूहरुले महिला सशक्तिकरणका लागि नै संघर्ष गरेको उल्लेख गर्दै भने, हिजो युद्धको बेलामा महिलालाई र उनीहरुको क्षमतालाई कसरी प्रमोट गर्ने भनेर छलफल गर्थ्यौं। पछि पनि हामी यो लागु गर्न चुकिरहेका थियौं। अहिले यो लागु हु‍नु खुसीको कुरा हो।

काठमाडौं महानगरका मेयर उम्मेदवार सिर्जना सिंहलाई गलतरुपमा प्रचार गरिएको समेत बताएका छन्। उनले भने, ुयी मेयरका प्रत्यासीलाई केहीले गलत ढंगले प्रचार नगरेका हैनन्।

कसैलाई छोरीको रुपमा कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलालाई अपमानित गर्ने र महिलाको क्षमतालाई अवमुल्यन गर्ने काम भइरहेको छ। तर, म त्यस्ता मान्छेलाई के भन्‍न चाहन्छु भने, जहाँजहाँ महिलाहरु कार्यकारी भूमिकामा छन्, त्यहाँ राम्रा काम भएका छन्।