काठमाडौँ : निर्वाचन नजिकिँदै गर्दा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एकजना एमाले कार्यकर्ताको हत्या भएको छ।

गत शुक्रबार भएको झडपपछि बेपत्ता भएकी एमाले कार्यकर्ता डोटी बुढा जुनमायाुको शव बुधबार भेटिएको हो।

गत वैशाख १९ गते माओवादी कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेदेखि बुढा बेपत्ता थिइन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार माओवादीसँग झडपपछि गायव उनको शव मंगलबार अपरान्ह घरबाट तीन किलोमिटरको दूरीमा भेटिएको हो।

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ टक्सेरामा गत शुक्रबार माओवादी कार्यकर्ताले एमाले र कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका थिए। एमालेको घरदैलोका आक्रमण हुँदा त्यसक्रममा ६ जना बढीलाई गम्भीर चोट लागेको थियो।

त्यही झडपपछि बुढालाई बेपत्ता पारिएको थियो। जुनमायाको शव अहिले पोस्टमार्टमका लागि घटनास्थलबाट उठाएर बुटवल लगिएको छ।

जुनमायाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय रुकुमपूर्व प्रहरीले घटनामा संलग्न भनिएका माओवादी केन्द्रका तीन कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माओवादीबाट वडाअध्यक्षका उम्मेदवार जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढा र कुमार सिंह रहेका छन्।

मृतकका परिवारले माओवादी कार्यकर्ताले अपहरणपछि जुनमायाको हत्या गरे पनि प्रहरीले अनुसन्धानमा चासो नदिएको गुनासो गरेको छ।

रुकुमपूर्वका एक प्रहरी अधिकारीले भने झडपपछि जुनमाया बेपत्ता भएको पुष्टि गरेको छ।

उक्त झडपपछि गायब उनको माओवादीबाटै हत्या भएको प्रारम्भिक निष्कर्षसहित शंकास्पद तीनजनालाई पक्राउ गरिएको ती अधिकारीले बताएका छन्।