तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका-१७ का २८ वर्षीय प्रदीप चौधरीले आफू वडाध्यक्षको उम्मेदवार बन्नु पर्ला भनेर कल्पना पनि गरेका थिएनन्।

भविष्यमा यही काम गर्छु वा यही बन्छु भन्नेसम्म उनले नसोचेको बताए। एकाएक उनको जीवनमा नसोचेकै भइदियो।

नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका उनका बुवा ५३ बर्षीय लबरु चौधरीको उपचारका क्रममा निर्वाचन आउनुभन्दा तीन दिनअगाडि काठमाडौंमा उपचारका क्रममा मृत्यु भयो। त्यसभन्दा पहिले लबरुले कहिलै केही स्वास्थ्य समस्या भएको कुरा परिवारमा कहिल्यै व्यक्त गरेका थिएनन्।

‘बुवाले हामीलाई कहिल्यै केही भन्नुभएन र रोग आफ्नो मुटुमा राखेर रात दिन पार्टीका लागि खट्नुभयो,’ प्रदीपले भने, ‘हामीले तपाईं किन औषधी गर्नु हुन्न भन्दा मलाई केही भएको छैन भन्दै सधैँ टार्नुभयो।’

बुवा लबरु कुन रोगको बिरामी थिए भन्नेबारे समेत आफूले यसअघि केही थाहा नपाएको प्रदीपले बताए। चिकित्सकले भने कलेजो र मिर्गौलाको समस्याका कारण उनको मृत्यु भएको जानकारी दिएका थिए।

बुवा लबरु बिरामी भएपछि उपचारका लागि नेपालगन्ज हुँदै काठमाडौं लैजाँदासम्म छोरा प्रदीप साथमै थिए।

शव मंगलबार बेलुका साढे ७ बजेतिर मात्रै घर ल्याई पुर्‍याए। स्थानीय खोलामा आफ्नो जातीय परम्परा अनुसार अन्तिम संस्कार गरे।

नेकपा एमालेले सहानुभूति मत बटुल्ने सोचले प्रदीपलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्‍यो। एकातिर बुवा बितेको शोक र अर्कोतिर निर्वाचनमा भिड्नु पर्ने बाध्यता प्रदीपको जीवनमा आइलाग्यो।