काठमाडौं :  मतदानका दिन करिब २ दर्जन स्थानमा झडप भएको छ। प्रहरीका अनुसार देशका विभिन्न २ दर्जन स्थानमा झडपका घटना भएका छन्।

तीमध्ये करिब १ दर्जन ठाउँमा प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ।

निर्वाचन आयोगका अनुसार छुटफुट घटनाबाहेक मतदान शान्तिपूर्वक भइरहेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार दोलखा, रामेछाप, सर्लाही, पर्वत हुम्ला र बाजुराका केही मतदानस्थलमा विवाद भएकाले मतदान स्थगित छ।

वर्षाका कारण पर्साका ठोरीलगायत ५ मतदान केन्द्रमा मतदान केही समयका रोकिएको छ।

झडपपछि स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्र भन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा,शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर भएको छ।

कौडन्यामा पनि विवाद भएपछि हवाई फायर भएको छ। त्यस्तै बाजुराको बूढीनन्दा नपामा हवाइ फायर भएको छ।

दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडपहरु भएका छन्। बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान दुबै पक्षका एक एक जना घाइते भएका छन्। मतदानका क्रममा भएको झडपका कारण केही स्थानको मतदान प्रभावित बन्न पुगेको छ।

रोकिएका धेरैजसो स्थानमा पुनः सुरु भइसकेको पनि छ।

प्रहरीका अनुसार सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको छ। मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरेको हो।

गोली चलेपछि उक्त मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको थियो। पछि स्थिति शान्त भएपछि सुचारु भएको छ।

धनकौलमा मतदानस्थल कहाँ राख्ने भन्नेमा विवाद भएको थियो। निर्वाचन आयोगले भनेको स्थानमा मतदान केन्द्र राख्न नहुने भन्दै असन्तुष्ट बनेका समूहले ढुंगामुढा गरेका थिए।

उता बाराको देवताल गाउँपालिकामा रोकिएको मतदान पुनः सुरु भएको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि त्यहाँ होहल्ला भएको थियो।

हात हालाहालको स्थिति सिर्जना भएपछि रोकिएको मतदान फेरि सुरु भएको छ।

त्यहाँ नेपाली कांग्रेसका र लोसपाका कार्यकर्ताबीचको झडपका कारण मतदान रोकिएको थियो।

त्यसैगरी ओखलढुंगाको चम्पादेवीमा मतदानका क्रममा कांग्रेस र एमाले समर्थित मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको छ। झडपका क्रममा वडाध्यक्षका उम्मेदवार घाइते भएका छन्।

चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थित जीवनज्योती मतदान केन्द्रमा कांग्रेस र एमाले समर्थक मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बताएको छ। मतदान केन्द्रभित्र झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरेको थियो।

यता रामेछापको दुई स्थानमा गोली चलेको छ। दुईपक्षीय झडप हुँदा मतदान प्रभावित बनेको छ। दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा झडप हुँदा एक राउण्ड गोली चलेको हो। यस्तै खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथम मतदान केन्द्रमा झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाई फायर भएको छ।

हुम्लामा पनि मतदानका क्रममा झडप भएको छ। एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ। स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घाइते भएका छन्।

माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा तनाव भएको हो।

उता दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ। मतदानका विषयमा झडप हुँदा मतदान स्थगित भएको हो। कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको हो।

यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ। दुई स्थानमा गरी १३ राउण्ड हवाई फायर भएको छ।

यसैगरी ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर ९ को एक मतदान केन्द्रमा पनि तनाव भएको छ। यस्तै माथिल्लो डोल्पामा पनि तनाव भएको छ।

मोरङको लेटाङमा मतदानका क्रममा विवाद भएको छ। सुकुम्बासी परिचयपत्र भएकाहरूको नाममा भोट हाल्न खोज्दा विवाद भएको हो। विवाद समाधान गरेर मतदान सुचारु गरिएको छ।

बुँदागत रूपमा झडप भएका स्थान :

मोरङको लेटाङ

हुम्लाको तंखेली गाउँपालिका(२ महादेव मावि मतदान केन्द्र र चंखेली

ओखलढुंगा चम्पादेवी गाउँपालिका–९

रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि र खाँडादेवी गाउँपालिका(१

घ्याल्चोक गोरखा

सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्र र कौडन्या

बाजुराको बुढीनन्दा

दैलेखको ठाटीकाँध

काभ्रेको चौरी देउराली–६

बाराको पचरौती– २

बाराको देवताल गाउँपालिका

ओखलढुङ्गाको चम्पादेवी

दोलखाको वैतेश्वर गाउँपालिकास्थित कालिढुंगा र मेलुङ गाउँपालिका