काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले अग्रता कायमै राख्नुभएको छ । उहाँले तीन हजार ३१० मतान्तरले अग्रता लिनुभएको छ ।

महानगरपालिकामा ५४ हजार ४२ मत गणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको हो । दाहालले २० हजार ४९२ मत प्राप्त गर्दा नेकपा (एमाले) बाट प्रमुखको उम्मेदवार बिजय सुवेदीले १७ हजार १८२ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ८८२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९ सय ५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १३ हजार ६ सय ४६ मत प्राप्त गरेका छन् । भरतपुर महानगरमा वडा नम्बर १, २, ४, ५, ६, ८ र १० मा कांग्रेस, वडा नं ७ र ९ मा नेकपा (एकीकृत समाजवादी) तथा वडा नम्बर ३ मा एमाले विजय भएको छ ।
वडा नम्बर ११ र १२ को मत गणना भइरहेको छ । ती दुवै वडामा एमाले अगाडि रहेको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । हाल मत गणना जारी रहेको छ ।