जनकपुरधाम, जेठ १५ । तारा एयरको विमान दुर्घटनाग्रस्त भएको खबरले धनुुषाको मिथिला नगरपालिका वडा नं. ११ लोटा गाउँका वासिन्दा चिन्तामा डुुबेका छन् ।

यस गाउँका एकै परिवारका ७ जना सोही विमानमा सवार थिए । उनीहरुको अवस्था हालसम्म अज्ञात रहेका कारण सिंगो गाउँ नै चिन्तामा डुबेको हो ।

स्थानीय मकरबहादुर तामांगसहित उनको श्रीमति, दिदी–भिनाजुु, बहिनी–ज्वाईं तथा भान्जा मुक्तिनाथ दर्शनका लागि यात्रामा गएको स्थानीयहरुले बताएका छन् ।

मकरबहादुर संगै इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, राममाया तामांग, सुकुमाया तामांग र तुलसादेवी तामांगको भौतिक अवस्था बारे जानकारी नआएकोले परिवारमा रुवाबासी चलिरहेको छ ।

गाउँलेहरु बिहानै देखि घटनाको विवरण तथा आधिकारिक पुष्टि पर्खिरहेका छन् ।

आइतबार  बिहान पोखराबाट जोसमसोमका लागि उडेको विमान खराब मौसमका कारण मुस्ताङ्गमा दुर्घटनाग्रस्त भएको थियो । खोजी जारी रहेपनि कुनै उपलब्धि हासिल हुन नसकेको तारा एयरले जनाएको छ ।