आइतबार दिउँसो पोखरा विमानस्थलको प्रतिक्षालयमा एउटी युवती घरीघरी रोइरहेकी थिइन्। छेउमा उभिएका अरूका पनि आँखा रसाएका थिए।

प्रतीक्षालयमा पर्खिरहेका आँखाहरू जहाजकी एयरहोस्टेस कृष्मी थापालाई खोजिरहेका थिए। तीमध्ये केही कृष्मीजस्तै एयरहोस्टेस थिए।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको घन्टौं बित्दा पनि अत्तोपत्तो थिएन। उनीहरू भने कृष्मी फर्केर आउँछन् कि भन्ने झिनो आशा बोकेर कुरिरहेका थिए।

सोमबार बिहान उक्त जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको मृत्यु भएको घोषणासँगै उनीहरूको आशाको दियो निभेको छ। उनीहरूकी साथी कृष्मी अब कहिल्यै फर्केर नआउने भएकी छन्।

साथीहरूमाझ सधैँ हँसिली र फुर्तिली कृष्मीले आफ्नो जीवनमा भने धेरै दु:ख र संघर्ष गरेकी थिइन्। स्याङ्जा चापाकोटकी कृष्मीका बुवाबुबा थापा मगर हुन् भने आमा दलित परिवारकी। कृष्मी जन्मिएपछि बुबाले आमालाई घरबाट निकालिदिए। कृष्मीलाई बोकेर आमा नजिकै रहेको माइत गइन्। माइतीमै कृष्मी हुर्किन्, पढिन्।

कृष्मीका मामाकी छोरी शर्मिला रुपालका अनुसार कक्षा १० सम्म गाउँमै पढेकी कृष्मीले प्लस टु स्याङ्जाको वालिङमा पढिन्। त्यसपछि एयर होस्टेस बन्न पोखरा आइन्। पोखरास्थित एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकालेर उनी २०१५ मा भर्ना भइन्। ६ महिना लामो एयर होस्टेस कोर्स पूरा गरेपछि कृष्मीले केही महिना पोखराकै एभिया क्लबमा काम गरिन्।