जलेश्वर। जलेश्वर नगरपालिकाको कार्यालय पालिका (स्थानीय तह) सदस्य निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले बिजयी भएको छ ।

स्थानीय तह निर्वाचन, २०७९ अन्तर्गत जलेश्वर नगरपालिकाको महिला सदस्य र दलित वा अल्पसंख्यक सदस्य गरी जम्मा ८ पदको लागि शनिवार सम्पन्न निर्वाचनमा ढल्केको छाता चुनाव चिन्ह भएको जसपा नेपालले ५ वटा महिला सदस्य र १ वटा अल्पसंख्यक सदस्य गरी ६ पदमा बिजयी भएको छ ।

त्यसैगरी सूर्य चुनाव चिन्ह भएको नेकपा एमालेले २ वटा अल्पसंख्यक सदस्य पदमा बिजयी भएको मुख्य निर्वाचन अधिकृत दिपक कुमार खरेलले बताउनुभयो ।

जसपा नेपालको तर्फबाट महिला सदस्यहरुमा सोगरा खातुनले ३२, गुलाब चौधरी यादवले ३२, सैदा खातुनले ३२, सुदामा देवीले ३१ र वरनिया देवीले ३१ र अल्पसंख्यक सदस्यमा कृष्णशंकर साहले ३२ मत ल्याएर बिजयी भएका छन् ।

त्यस्तै नेकपा एमालेको तर्फबाट अल्पसंख्यक सदस्यहरु विशेश्वर महतोले ३१ र शम्भु ठाकुरले ३१ ल्याएर बिजयी भएका छन् ।

१२ वटा वडा रहेको जलेश्वर नगरपालिकामा बैशाख ३० गते सम्पन्न स्थानीय तह २०७९ को निर्वाचनमा प्रमुख, उपप्रमुख, ५ वटा वडाध्यक्ष र २१ वटा वडा सदस्य गरी जम्मा २८ वटा पदमा जसपा नेपाल निर्वाचित भएको थियो ।

त्यस्तै ६ वटा वडाध्यक्ष र २४ वडा सदस्य पदमा नेकपा एमाले निर्वाचित भएको थियो । र त्यस्तै १ वडाध्यक्ष र ३ वटा सदस्यमा नेकपा एकिकृत समाजवादी निर्वाचित भएको थियो ।