• उमेश कुमार साह

बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिकाको नगरकार्यपालिकामा जसपा अल्पमतमा परेका छन् । प्रमुख–उपप्रमुखसहित सत्ताको नेतृत्व गरेका जसपा आइतबार सम्पन्न नगरकार्यपालिकाको निर्वाचनमा पराजित भएपछि अल्पमतमा परेका हुन् ।

नगरकार्यपालिका निर्वाचनमा ८ वटै पदमा नेकपा एमाले, नेपाली काँग्रेस, लोसपा र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनका उम्मेदवार विजयी भएपछि जसपा अल्पमतमा परेको छ ।
बोदे बर्साईन नगरकार्यपालिकाको निर्वाचनबाट ३ जना दलित वा अल्पसंख्यक सदस्य र ५ जना महिला सदस्यहरू गरी ८ पदका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् ।

गठबन्धनको तर्फबाट काँग्रेसबाट महिला सदस्यमा पुनिता देवी यादव, रेखा कुमारी सदा, आरती कुमारी दास, लोसपाबाट लक्ष्मी देवी सदा, रिता कुमारी चौधरी विजयी भएकी छन् ।

यस्तै दलित वा अल्पसंख्यक सदस्यमा एमालेबाट लटु दास, काँग्रेसका राजेन्द्र साफी र माओवादी केन्द्रबाट उतिम लाल मण्डल विजयी भएका छन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १० वटा वडा रहेको बोदे बर्साईनमा जसपाले नगर प्रमुख, उपप्रमुख ३ वटा वडा अध्यक्षसहित २० पदमा निर्बाचित भएको थियो ।

यसैगरी काँग्रेस ३ वटा वडा अध्यक्षसहित १८, एमाले २ वटा वडा अध्यक्ष सहित ६ पदमा, लोसपाबाट १ वटा वडा अध्यक्ष सहित ६ पदमा भने नेकपा माओवादी केन्द्रले एक वडा अध्यक्ष १ सदस्य निर्वाचनमा जित हाँसिल गरेको थियो ।

नगरप्रमुख, उपप्रमुख ३ जना वडा अध्यक्ष गरी जसपाबाट ५, काँग्रेसबाट ७ जना, एमालेबाट ३ जना, लोसपाबाट ३ जना र माओवादी केन्द्रबाट २ जानले प्रतिनिधित्व गर्ने भएको छ ।