जनकपुरधाम  । जनकपुरधाम उपमहानगरपालिकामा सडक मानवको उद्धार गरेर सेवा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई मारवाडी युवा मञ्चले अति आवश्यक सामान तथा खाद्यान्न सामाग्रीहरू आज प्रदान गरेको छ ।

आश्रमको आवश्यकता तथा माग अनुसार मारवाडी युवा मञ्चले वासिङ मेसिन, छाता, चप्पल, कपडा, खाने तेल, फलफूल, चिउरा, मुरही, साबुन, सर्प, बिस्कुट, पेष्ट, ग्लुकोज, फलफूल सहितका विभिन्न उपभोग्य सामाग्रीहरू प्रदान गरेको छ ।

मञ्चका जनकपुरधाम शाखाका संस्थापक अध्यक्ष निर्मल सिघानीयाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा आश्रमका सञ्चालकहरूलाई सो सामाग्रीहरू हस्तान्तरण गरिएको छ ।

मारवाडी युवा मञ्चका अध्यक्ष विक्रम जैनको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका केन्द्रीय सचिव आशिश झुनझुनवालाले सामाजिक क्षेत्रमा मञ्चले सुरुदेखि नै विभिन्न प्रकारको योगदान गर्दै आएको बताउनुभयो ।

अगामी दिनमा पनि आश्रमलाई चाहिने सहयोगहरू आफूहरूले गर्नका लागि तयार भएको पनि मारवाडी युवा मञ्चका अध्यक्ष विक्रम जैनले जानकारी दिनुभयो ।

अहिले मानव सेवा आश्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट सडक तथा खुल्ला आकाशमा रहेका २० जनालाई ल्याएर संरक्षण प्रदान गरिएको छ ।

मानव सेवा आश्रमको १८ औँ शाखाको रुपमा ७० बेड क्षमताको जनकपुरधाममा शाखा सञ्चालनमा आएपछि यस क्षेत्रका सडक मानव तथा खुल्ला आकाशमा जीवन बिताउनेहरूलाई उद्धार गरेर संरक्षण प्रदान गर्दै आएको छ ।