काठमाडौं । केहिदिन देखि रोकिएको काठमाडौं महानगरको फोहोर मंगलबारबाट उठ्ने भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा सोमबार भएको जनप्रतिनिधिहरुबीचको वार्ताले काठमाडौं महानगरभित्र रहेको फोहोर मंगलबार बिहान ८ बजेबाट उठाउने सहमति भएको हो ।

सहरी विकास मन्त्रालयमा सोमबार भएको वार्तामा काठमाडौंका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल सहभागी थिए । यसैगरी ललितपुर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिको सहभागिता थियो । स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पुरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।

बैठकमा सहरी विकास मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गाको मूल्यांकन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाएको छ । प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।

धुनिबेसी नगरपालिकाको १, ३ र ४ तथा ककनीको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने, यस क्षेत्रमा विगतबाट उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने प्रतिवद्धता काठमाडौं महानगरपालिकाले गरेको छ ।

असार मसान्तपछि स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने प्रतिवद्धता महानगरपालिकाले गरेको छ । त्यतिन्जेलसम्म महानगरमा हाल थुप्रिएका फोहोर लगेर फालेपछि माटोले उचित तरिकाले पुर्ने प्रतिवद्धता पनि महानगरपालिको जनाएको छ ।

साउन १ देखि फोहोर श्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि महानगरले गरेको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्न पनि महानगरपालिका सहमत भएको छ ।