जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सदनबाट नागरिकता विधेयक पारित गरी नागरिकता विहीनलाई नागरिकता उपलब्ध गराउने बताएका छन् ।

जन्मसिद्ध नागरिकता प्राप्त गरेका सन्तान अहिले पनि नागरिकताबिहीन रहेको भन्दै अध्यक्ष यादवले सदनबाट नागरिकता विधेयक पारित गरी उनीहरुलाई आगामी चुनाव अगाडि नै नागरिकता दिएर मतदाता सूचीमा नाम राखिने बताए ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा  अध्यक्ष यादवले लोसपासंग गठबन्धनमा आए आफूहरुले स्वागत गर्ने बताए ।

अध्यक्ष यादवले लोसपाका नेताहरु जसपामा आए स्वागत गर्न तयार रहेको पनि बताए । ‘एक हातले ताली बज्दैन, दुबै हातले बज्छ’ अध्यक्ष यादवले भने, ‘हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’

उनले हिजोको गल्ती ठिक गर्दै जुटेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए । मधेशको मत बाँडिएपछि मधेशलाई नोक्सान हुने गरेको बताउँदै अहिले फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष यादवले लोकतन्त्रमा रहेको संकटबाट बचाउँदै मुलुकलाई ट्रयाकमा ल्याउन गठबन्धन सफल भएको पनि बताए ।